Skip to content

परदेशमा म एक एक्लो यात्री

कालोपाटी

१ घण्टा अगाडि

​- हिमा घर्ती

​म एक यात्री, घर, समाज र देश बुझेर जिन्दगी बुझ्न हिँडेकी छु । सुटकेसमा सपना बोकेर गन्तव्य खोज्दै विरानो देशमा यात्रारत छु , जिन्दगीको परिभाषा खोजिरहेको छु । यो यात्राका जटिलता आफ्नै किसिमका छन् ।

यो यात्रा सजिलो कदापि थिएन, घरमा बुवा-आमालाई छोडेर राजधानीसम्मको यात्रा होस वा देश छोडेर परदेशको यात्रा नै। आफन्तहरूको याद खुब आउँछ अचेल । देशको याद खुब आउँछ ।
यसरी म पटक-पटक टुटेर फेरि म नयाँ मान्छे बन्ने प्रयत्न गरिरहेकी यात्री हुँ।…

​मध्यरातमा फेरि हिजो सम्झन्छु र आज आफैलाई हेर्छु अनि सम्झाउँछु आफैलाई – किन पिर गर्छेसरु आखिर जिन्दगी यस्तै त थियो, हिजो पनि र आज पनि , सायद भोलि उज्यालो उदाउँनेछ ।
फरक यति हो कि केही सपनाहरू टुटे, बन्द भए कयौं सपनाका ढोकाहरू । फ़ेरि खुल्नेछ्न सपनाका नयाँ ढोकाहरू ।
छुटेका सबै-सबै सपनाहरू यादमा बसिरहनेछन् म ती सबै सपनालाई माया गर्नेछु , खुब प्यार गर्छु ।

​यादहरूको पोको बोकेर खुब मज्जाले बुझ्दै छु जिन्दगी । जहाँ याद भन्नु काम, पढाइ र एक्लो कोठाको बसाइ भएको छ , ती बाहेक केही छैनन् सम्झिराख्नलाई।
यो विदेशको सहरमा मीठा याद बाहेक अरू केही छैन मसँग अचेल ।

मीठा भन्दा तिता अनुभवको थुप्रो बनेको छ जीवन। घरिघरि बाँच्नुको अर्थ खोज्छु । संघर्षको बारे धेरै सोच्छु ।
सबै छोडेर कतै कसैलाई नभनी हिँडूँझैँ लाग्छ तर फेरि सम्झन्छु, बुवा-आमाले मप्रती देखेको आशा भरोसा अनि सयौं साथीहरूको मीठो साथ । आफन्तका बिश्वास ।फेरि फर्किन्छु आफ्नै रियालिटीमा।

​बिरानो सहरमा बिरानो मान्छेहरू आफ्ना कसरी हुन्थे ररु यी बिरानो मान्छे आफ्ना हुने कुरा त परको कुरा, यहाँ आफ्नाहरू पनि बिरानो भइसके अचेल। न आफ्नाहरूलाई हालखबर सोध्ने फुर्सद छ, न हालखबर बताउने फुर्सद छ। अचेल साथीभाइले गुड मर्निङु भन्नु त परको कुरा, वर्षमा एक पटक जन्मदिनको शुभकामना पनि पठाउन छोडे। मन खुब भक्कानिन्छ बेलाबेला र सोच्छु आफैँ, यसरी पो रहेछ मानिस एक्लो हुने !

​व्यस्तताले जिन्दगीलाई यसरी परिबन्धमा पारेको छ कि, जहाँ खाने, सुत्ने र आफू को हुँ भनेर एक पटक ऐना हेर्ने पनि फुर्सद छैन। जिन्दगी यसरी चलिरहेछ, जुन कोहीलाई विश्वास गर्न गाह्रो पर्छ। जिन्दगीमा कयौँ त्यस्ता अपत्यारिलो दिनहरू छन्, जुन कसैलाई सुनाएर पनि मन हलुको हुँदैन, न त मनमा राखेर शान्ति मिल्छ, बरु बसिरहन्छ काँडा बनेर मुटुमा र चस्काइरहन्छ बेलाबेला।

​मन भन्छ कोही बाँचिरहेछ, केवल बाँच्नको लागि, बिनाअस्तित्व, बिनाकारण… । फ़ेरि सोच्छु जिन्दगी भनेको गतिशीलता हो । संघर्षको यात्रा पनि हो ।

यसरी…
हरक्षण जिन्दगीले अनेक तवरबाट आफैलाई झक्झकाउँछ, अनि फेरि आफैलाई सम्झाउँछु र भन्छु आफैँलाई—तँ गन्तव्य खोज्दै हिँडेकी मान्छे,पुग्नुपर्ने ठाउँमा नपुगेसम्म हार मान्नु हुँदैन ।

परवाह गर्नु हुँदैन भोक, निद्रा, प्यास, आराम र बाँकी कयौँ कुराहरूको… किनकि
जिन्दगी तीतामीठा अनुभवहरूको सङ्ग्रहालय हो….

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार