Skip to content

कोलम्बियामा गएको शक्तिशाली भूकम्पमा ३ सय ७७ जना अझै बेपत्ता

कालोपाटी

४ घण्टा अगाडि

काठमाडौँ । कोलम्बियामा शक्तिशाली भूकम्पपछि उद्धारको समय बित्दै जाँदा जीवित व्यक्तिको खोजीमा आशा कमजोर बन्दै गएको छ । उद्धार टोलीले भग्नावशेषमा खोजी कार्यलाई तीव्र बनाइरहे पनि कतिपय ठाउँमा खोजी तथा उद्धारको सट्टा भग्नावशेष हटाउने काम शुरु भएको रोयटर्सले जनाएको छ ।

गएको सोमबार बिहान स्थानीय समयअनुसार साढे ७ बजे गएको ७ दशमलव ४ म्याग्निच्युडको भूकम्पका कारण पश्चिमी कोलम्बियाका विभिन्न क्षेत्रमा भवन, घर, विद्यालय र अस्पतालमा क्षति पुगेको छ ।

सरकारी तथ्यांकअनुसार अहिलेसम्म कम्तीमा २७३ जनाको ज्यान गएको छ भने ३ हजार ८ सयभन्दा बढी घाइते भएका छन् । अझै ३७७ जना बेपत्ता रहेको खबरमा उल्लेख छ । राजधानीपछिको ठूलो सहर मानिने कालीमा उद्धार टोलीले अधिकांश ठाउँमा भग्नावशेष हटाउने काम थालेका छन् ।

यद्यपि नौ ठाउँमा खोज तथा उद्धार अभियान अझै सक्रिय रहेको नगरप्रमुख अलेजान्द्रो एडरले बताउनु भएको छ । उद्धारकर्तालाई भग्नावशेषभित्र जीवित व्यक्ति भए–नभएको पत्ता लगाउन सहज होस् भन्दै ती क्षेत्रमा शान्त रहन आग्रह गरिएको छ ।

कालीको टोरेस डेल लिमोनार आवासीय क्षेत्रमा स्वयंसेवक, उद्धारकर्मी र सुरक्षाकर्मीले भग्नावशेषमा खोजी जारी राखेका छन् । केही ठाउँमा ग्यासका सिलिन्डरलगायत जोखिमपूर्ण सामग्री निकालिएकाले उद्धारका क्रममा विशेष सावधानी अपनाइएको छ ।

स्थानीय रेस्टुरेन्ट व्यवसायी तथा अन्य स्वयंसेवकले उद्धारकर्मी, स्वास्थ्यकर्मी र स्वयंसेवकका लागि दैनिक झण्डै १ हजार जनालाई खाना उपलब्ध गराइरहेका छन् । भूकम्पबाट प्रभावित ग्रामीण तथा दुर्गम क्षेत्रमा भने उद्धार र राहत अझै चुनौतीपूर्ण बनेको छ । कालीको उत्तरपश्चिममा रहेको बुएनाभेन्तुराका केही प्रभावित बस्तीमा उद्धार टोली पुग्न नसकेको अन्तर्राष्ट्रिय उद्धार संस्थाले जनाएको छ ।

त्यहाँ सशस्त्र समूहका कारण केही बस्तीमा पहुँच कठिन बनेको र कतिपय ठाउँमा राहत सामग्री वितरणमा समेत समस्या आएको खबरमा उल्लेख छ । प्रभावित क्षेत्रमा खानेपानी, ग्यास र विद्युत् सेवासमेत अवरुद्ध भएको छ ।

भूकम्पपछि १५० भन्दा बढी पराकम्प रेकर्ड भइसकेका छन् । जसले उद्धारको काममा कठिनाइ भइरहको छ । त्यहाँको सरकारले भूकम्पबाट १२ हजार ५ सयभन्दा बढी घरमा क्षति पुगेको अनुमान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार