Skip to content

‘पार्टीभित्रैका केही व्यक्तिले समस्या सिर्जना गरे’ : ओली

कालोपाटी

५५ मिनेट अगाडि

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बाहिरबाट हमला भइरहेको बेलामा पार्टीभित्रै पनि केही व्यक्तिहरू समस्या सिर्जना गर्न लागिपरेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।

सोमबार पार्टीको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्ने क्रममा उनले विरोधीलाई खेल्ने ठाउँ दिनका लागि पार्टीभित्रबाट कोही पनि लाग्न नहुने बताए ।

‘यतिबेला हामी एकजुट भएर, एकढिक्का भएर यस प्रतिकूलताको सामना गर्न, हामीमाथिको फाँसीवादी हमलाको प्रतिकार गर्न एकजुट भएर अघि बढ्नुपर्थ्यो,’ ओलीले भने, ‘तर पार्टीभित्रै केही व्यक्ति र तत्वहरू पार्टीभित्रै समस्या सिर्जना गर्न उद्धत भए । समस्याको सिर्जना गरे ।’

पार्टीभित्रको बहस पार्टी समितिभित्रै छलफल गर्नपर्ने उनको भनाइ थियो ।

‘तर मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो, जस्ता कुराहरू बोल्ने रु तपाईं पार्टीमा हुनुहुन्छ भने पार्टीमा छलफल गर्नुस् न, बाहिर गएर जगहस्याँइ गर्ने, पार्टीको प्रतिष्ठा कमजोर पार्ने, विपक्षीको मनोबल उठाउने, विपक्षीलाई खुसी बनाउने, यस प्रकारका क्रियाकलाप हुन हुँदैन,’ ओलीले भनेका छन् ।

साथै, उनले अराजकतालाई नियन्त्रण गरेर अनुशासित पार्टी बनाउनुपर्नेमा जोड दिए ।

‘यस्तो अराजकतालाई नियन्त्रण गरेर पार्टीलाई अनुशासित बनाएर अघि बढाउनुपर्ने परिस्थिति सिर्जना भएको छ,’ ओलीले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार