Skip to content

आफूमाथि लागेको आरोपबारे सांसद खगेन्द्र सुनार भन्छन्- ‘एआईबाट बनाइयो’

कालोपाटी

७ मिनेट अगाडि

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले आफ्नो भनेर सार्वजनिक गरिएको अडिओ एआईमार्फत बनाइएको दाबी गरेका छन्।

मंगलबार आफ्नो सामाजिक सञ्जालमार्फत भिडिओ र क्याप्सनमार्फत उनले आफूमाथि लागेको आरोप झुटो भएको दाबी गरे।

उनले प्रहरी भित्र भएको भ्रष्टाचार विरूद्ध प्रश्न गरेपछि आफूमाथि निरन्तर प्रहार भइरहेको बताए।

‘प्रहरी भित्रको भ्रष्टाचारविरूद्ध प्रश्न गरेदेखि ममाथि निरन्तर प्रहार भइरहेको छ। विभिन्न आरोप प्रत्यारोपको सिकार भइरहेको छु। हिजोदेखि मेरो हो भनेर कोही काल्पनिक महिलासँगको अडियो सार्वजनिक गरिएको छ,’ उनले लेखेका छन्, ‘आजसम्म सार्वजनिक भएका सबै आरोपहरू झुटो हुन्। एआई लगायत प्रविधिका प्रयोग गरेर बनाइएका प्रचारहरू हुन्।’

उनले आफूमाथि लागेको आरोपको सत्यतथ्य छानबिन गर्न रास्वपा र सरकारलाई अनुरोध गरेका छन्। उनले अनुसन्धानमा सहयोग गर्ने पनि बताए।

सुनारले एक महिलालाई फोनमार्फत अपशब्द, धम्की लगायत दिएर दुर्व्यहार गरेको भन्दै अडिओ सार्वजनिक भएको छ।

अडिओ सार्वजनिक भएपछि रास्वपाले केन्द्रीय अनुशासन समितिलाई छानबिन गर्न निर्देशन दिएको छ।

पार्टीले सुनारलाई पनि कुनै सार्वजनिक कार्यक्रममा सहभागी नहुन निर्देशन दिइसकेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार