Skip to content

१ लाख ३० हजार १२९ यात्रुले लिए दशैँका लागि अग्रिम टिकट

कालोपाटी

६० मिनेट अगाडि

काठमाण्डौ । दशैँ पर्व शुरू भएसँगै काठमाण्डौ उपत्यका छाडेर घर फर्किने यात्रुको चाप बढेको छ । अध्ययन, रोजगारी र पेशा–व्यवसायका लागि सङ्घीय राजधानीमा रहेका मानिसहरू दशैँ मनाउन गाउँ फर्किन थालेपछि उपत्यकाका मुख्य नाकाहरूमा यात्रुको चहलपहल बढेको हो ।

काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापनायता सार्वजनिक गाडीमार्फत १ लाख ८७ हजारभन्दा धेरै यात्रु उपत्यकाबाट बाहिरिएका छन् । पछिल्लो २४ घण्टामा मात्रै विभिन्न नाका हुँदै ७८ हजारभन्दा धेरै मानिसले काठमाण्डौ छाडेका छन् ।

यसैबीच असोज २३ गतेदेखि खुला गरिएको अग्रिम बस टिकट बुकिङमार्फत अहिलेसम्म १ लाख ३० हजार १२९ जना यात्रुले टिकट लिइसकेका छन् ।

यात्रुको चाप बढे पनि बिग्रिएका सडकका कारण यातायात व्यवस्थापनमा चुनौती थपिएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अनुसार राष्ट्रिय राजमार्गहरू बिग्रिएकाले गाडी समयमै काठमाण्डौ फर्कन नसक्दा सञ्चालनमा समस्या भएको हो ।

महासङ्घले यात्रुहरूलाई अनिवार्य रूपमा टिकट काटेर मात्र यात्रा गर्न, तोकिएको भाडादर बुझ्न र गाडीको अवस्था जाँच गरेर सुरक्षित यात्रा गर्न आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार