Skip to content

नेपाल आएका विदेशीको निगरानीका लागि नयाँ सूचना प्रणाली लागू

कालोपाटी

६० मिनेट अगाडि

काठमाडौँ – अध्यागमन विभागले विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली आजदेखि कार्यान्वयनमा ल्याएको छ। गृहमन्त्री ओमप्रकाश अर्यालको उपस्थितिमा आयोजित कार्यक्रममा उक्त प्रणाली औपचारिक रूपमा लागू गरिएको हो।

कार्यक्रममा अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीले विभिन्न भिसामा नेपाल प्रवेश गर्ने विदेशी नागरिकलाई अध्यागमन कानुन विपरीतका गतिविधिमा संलग्न हुन नदिन निगरानी, नियमन र व्यवस्थापन गर्न तथा यात्रा सहजीकरणका लागि यो प्रणाली सुरु गरिएको जानकारी दिए।

विभागका अनुसार प्रणाली लागू भएसँगै नेपाल भ्रमण गर्ने विदेशी नागरिकको सुरक्षा, सूचनाको सहज पहुँच, सम्भावित अपराध नियन्त्रण र पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। यस प्रणालीमार्फत नेपाल प्रवेश गरेका विदेशी नागरिक कहाँ बसेका छन्, कुन स्थानमा छन्, भिसा कानुनअनुसार रहे–नरहेको लगायत विवरण प्रणालीमा आबद्ध संस्थाले विभागलाई अनलाइनमार्फत उपलब्ध गराउनुपर्ने व्यवस्था गरिएको छ।

पर्यटक नेपालमै रहुन्जेल आवश्यक परेमा उनीहरू कहाँ छन् भन्ने जानकारी सहज रूपमा प्राप्त गर्न सकिने विभागले जनाएको छ।

पहिलो चरणमा काठमाडौँ उपत्यकाभित्रका तारे होटल, ट्राभल एजेन्सी, मनी एक्सचेन्ज लगायत संस्थामा प्रणाली लागू गरिएको छ। दोस्रो चरणमा उपत्यकाबाहिरका होटल, ट्राभल एजेन्सी तथा अन्य सम्बन्धित संस्थामा समेत यो प्रणाली विस्तार गर्ने तयारी रहेको अध्यागमन विभागले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्