काठमाडौं । सुनिता वरालको राजनीतिक यात्रा झापा जिल्लाको गौरादहबाट सुरु भएको हो । उनले प्रारम्भिक शिक्षा गौरादहकै जनता माध्यमिक विद्यालयबाट प्राप्त गरिन् । विद्यालय जीवनमै विभिन्न गतिविधिमा सक्रिय रहँदै विद्यार्थी प्रतिनिधिका रूपमा सहभागिता जनाएकी वरालले कक्षा ११ र १२ को अध्ययन गौरादह बहुमुखी क्याम्पसबाट पूरा गरिन् । यही समयदेखि उनी अनेरास्ववियूको क्याम्पस कमिटीमा आबद्ध हुँदै संगठित विद्यार्थी राजनीतिमा सक्रिय भइन् ।
विद्यार्थी राजनीतिमा निरन्तर सक्रिय रहँदै वराल अनेरास्ववियूको केन्द्रीय अध्यक्षसम्म निर्वाचित भइन् । केन्द्रीय अध्यक्षको भूमिकामा रहँदा उनले लामो समयदेखि हुन नसकेको महाधिवेशन सम्पन्न गराई नेतृत्व हस्तान्तरण गर्ने महत्वपूर्ण जिम्मेवारी निर्वाह गरिन् । उनको नेतृत्व क्षमताको मूल्याङ्कनस्वरूप नेकपा एमालेको दशौँ महाधिवेशनबाट उनी पार्टीको केन्द्रीय कमिटी सदस्यमा निर्वाचित भइन् र एक कार्यकाल सफलतापूर्वक पूरा गरिन् ।
पार्टीको विश्वासका आधारमा सुनिता वराल समानुपातिक बन्द सूचीमार्फत संघीय सांसद बन्ने अवसर पाइन । सांसदका रूपमा मात्र नभई उनले नेकपा एमाले संसदीय दलको तर्फबाट सचेतकको जिम्मेवारीसमेत निर्वाह गरिन् । शैक्षिक रूपमा उनले विराटनगरस्थित पूर्वाञ्चल विश्वविद्यालयबाट स्नातक तहको अध्ययन पूरा गरेकी छन् । त्रिभुवन विश्वविद्यालय बाहिरको शैक्षिक पृष्ठभूमिबाट विकसित भएर अनेरास्ववियूको केन्द्रीय नेतृत्वमा पुग्ने उनी पहिलो नेतृका रूपमा परिचित छिन् ।
राजनीतिलाई पेशा नभई सेवा मान्ने वरालले महिलाका रूपमा नेतृत्वमा स्थापित हुन अनेक चुनौतीहरूको सामना गरिन् । पारिवारिक राजनीतिक पृष्ठभूमि नभए पनि अभिभावकको विश्वास र सहयोगले उनलाई निरन्तर अघि बढ्न प्रेरित गर्यो । अन्तरपुस्ता समन्वय, युवाहरूको राजनीतिक सहभागिता वृद्धि र शिक्षा क्षेत्रको सुधारलाई उनले आफ्नो मुख्य प्राथमिकता बनाएकी छन् । ११ औँ महाधिवेशनबाट पुनः केन्द्रीय सदस्यमा निर्वाचित सुनिता वराल आज नेकपा एमालेकी एक सशक्त, प्रतिबद्ध र भविष्यप्रति स्पष्ट दृष्टिकोण भएकी नेतृका रूपमा स्थापित छन् ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्