Skip to content

जेनजी आन्दोलनको आर्थिक असर, निजी सम्पत्तिमा २७ अर्ब ४९ करोड नोक्सानी

कालोपाटी

१७ घण्टा अगाडि

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा निजी प्रतिष्ठान तथा घरपरिवारमा मात्रै २७ अर्ब ४९ करोड रुपैयाँभन्दा बढीको क्षति भएको सरकारी अध्ययन प्रतिवेदनले देखाएको छ।

क्षतिको जाँचबुझ गर्न गठित सरकारी कार्यदलले तयार पारेको प्रतिवेदनअनुसार जेनजी आन्दोलनका बेला सार्वजनिक संस्थानमा ९५ करोड ६२ लाख रुपैयाँ बराबरको क्षति पुगेको छ। सार्वजनिक संस्थानको स्वामित्व वा भोगचलनमा रहेका सम्पत्तिमा भएको उक्त क्षतिमा भवनतर्फ ४३.१ प्रतिशत, सवारी साधनतर्फ १६.१ प्रतिशत, अन्य भौतिक सम्पत्तितर्फ ३७.४ प्रतिशत र अन्य शीर्षकमा ३.३ प्रतिशत क्षति भएको उल्लेख छ।

प्रतिवेदनअनुसार नेपाल सरकारअन्तर्गतका २६ वटा र प्रदेश सरकार मातहतका ३ वटा संस्थानका भवनमा क्षति पुगेको छ। भवनतर्फ मात्रै ४१ करोड २४ लाख रुपैयाँ बराबरको क्षति भएको छ। यस्तै, संस्थानका करिब १ सय ९ वटा सवारी साधनमा क्षति पुग्दा १४ करोड ३६ लाख रुपैयाँ बराबरको नोक्सानी भएको छ।

यता, जेनजी आन्दोलनका क्रममा निजी तथा सामुदायिक क्षेत्रले ठूलो क्षति व्यहोर्नुपरेको प्रतिवेदनले देखाएको छ। निजी प्रतिष्ठान तथा घरपरिवारमा कुल ३३ अर्ब ५४ करोड ८७ लाख रुपैयाँ र सामुदायिक तथा अन्य क्षेत्रमा ५ अर्ब ९७ करोड १७ लाख रुपैयाँ बराबरको क्षति भएको उल्लेख छ।

प्रतिवेदनअनुसार निजी क्षेत्रको स्वामित्व वा भोगचलनमा रहेका स्थायी तथा अस्थायी सम्पत्तिमा मात्रै २७ अर्ब ४९ करोड ३ लाख रुपैयाँ बराबरको क्षति पुगेको छ, जुन निजी तथा सामुदायिक क्षेत्रमा भएको कुल क्षतिको ६९.८ प्रतिशत हो।

निजी क्षेत्रमा भएको कुल क्षतिमध्ये भवनमा आगजनी तथा तोडफोडबाट भएको क्षति सबैभन्दा ठूलो ४५.२ प्रतिशत रहेको छ। त्यसपछि अन्य भौतिक सम्पत्तिमा २७.४ प्रतिशत, अस्थायी तथा अन्य निजी सम्पत्तिमा २१.७ प्रतिशत र सवारी साधनमा ३.४ प्रतिशत क्षति भएको प्रतिवेदनमा उल्लेख छ।

समग्रमा क्षतिको ठूलो भार भवन तथा स्थायी सम्पत्तिमा परेको हुँदा उत्पादन, सेवा तथा रोजगारी क्षेत्रमा प्रत्यक्ष असर परेको निष्कर्ष प्रतिवेदनले निकालेको छ।

प्रतिक्रिया दिनुहोस्