Skip to content

आफ्नै बिरासत जोगाउने चुनौतीमा बाबुराम, गोरखा–२ बाट उम्मेदवार

कालोपाटी

२ घण्टा अगाडि

काठमाडौँ। फागुन २१ को प्रतिनिधि सभा निर्वाचनमा डा. बाबुराम भट्टराईले अन्ततः गोरखा–२ बाट चुनाव लड्ने घोषणा गरेका छन्। यसअघि चुनाव नलड्ने संकेत दिएका भट्टराईले प्रगतिशील लोकतान्त्रिक पार्टीको आइतबार गोरखामा आयोजित कार्यकर्ता भेटघाटमा प्रत्यक्षतर्फ आफ्नो उम्मेदवारी रहने जानकारी दिएका छन्।

उनले भने, “नयाँ पुस्तालाई अघि सार्ने प्रयासको सन्दर्भमा म पार्टीमा संरक्षकको भूमिका बहन गर्दै आएको छु। तर देशको जटिल राजनीतिक र भू-राजनीतिक परिस्थितिले मेरो चुनावी भूमिकाको आवश्यकता देखाएको छ।”

भट्टराईले वर्तमान राजनीति पुराना र नयाँ शक्तिहरूको द्वन्द्वमा फसेको र उत्पन्न अस्थिरतालाई सुल्झाउन आफूले अभिभावकीय भूमिका निभाउनुपर्ने महसुस गरेको बताए। उनले विदेशी शक्तिहरूको स्वार्थका कारण नेपालको सार्वभौमसत्तामा प्रतिकूल असर पर्ने जोखिम रहेको र त्यसका लागि उनी संसदको प्रतिनिधि सभा उच्च थलोमा रहँदा योगदान गर्न सक्षम हुने विश्वास व्यक्त गरे।

यसअघि गोरखाबाट बाबुराम कहिल्यै हार व्यहोर्नु परेको छैन। २०६४ सालको संविधान सभा निर्वाचनमा गोरखा–२ बाट सर्वाधिक मतसहित विजयी भएका उनले २०७० मा गोरखा–१, २०७४ मा गोरखा–२ बाट निर्वाचित बनेका थिए। २०७९ को निर्वाचनमा उनले आफ्नो निर्वाचन क्षेत्र प्रचण्डलाई छोडेका थिए।

तर यसपालीको चुनाव उतिकै सहज छैन। सशस्त्र द्वन्द्वकालका सहकर्मी लेखनाथ न्यौपानेदेखि गुण्डा नाइके मिलन चक्रेसम्म उनका प्रतिस्पर्धी छन्। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट न्यौपाने र नेकपा एमालेबाट चक्रे उम्मेदवार पक्का भइसकेका छन्। यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट कविन्द्र बुर्लाकोटी उम्मेदवार बन्ने सम्भावना छ।

हाल गोरखा–२ मा कुल मतदाता १ लाख ८ हजार ५३३ रहेका छन्। बाबुरामले यस क्षेत्रबाट करिब ४६ हजार मत प्राप्त गरेर जित हासिल गरेका थिए। तर युवा मतदाताको रोजाइमा नयाँ अनुहारको खोजी र पुराना दलप्रतिको वितृष्णाका कारण मत विभाजित हुने सम्भावना रहेको छ।

भट्टराईले भने, आफ्नो गोरखाको विकासमा पुरानो योगदानलाई सम्झेर गोरखाली जनताले फेरि एकपटक उनलाई विश्वास र समर्थन दिनेछन् भन्ने आशा व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार