Skip to content

‘बालेन प्रधानमन्त्री नबने आत्मदाह गर्छु’: अमरेशकुमार सिंह

कालोपाटी

१ घण्टा अगाडि

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका डा. अमरेशकुमार सिंहले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह नै अबको प्रधानमन्त्री बन्ने ठोकुवा गरेका छन् । राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सिंहले बालेन प्रधानमन्त्री नबने आत्मदाह गर्ने अभिव्यक्ति दिएपछि उनको भनाइले राजनीतिक वृत्तमा चर्चा र विवाद दुवै निम्त्याएको छ।

सिंहले भावनात्मक भाषण गर्दै बालेनलाई देशको ‘महानायक’ को संज्ञा दिएका थिए । उनले जनकपुरसँग जोडिएको धार्मिक–सांस्कृतिक प्रसंग उल्लेख गर्दै भने, “हामी सीता माताका सन्तान हौं । सीता माता यही धर्तीमा समाहित भएकी थिइन् । बालेन प्रधानमन्त्री भएनन् भने म पनि जनकपुरको धर्तीमा समाहित हुनेछु ।”

उनले बालेन प्रधानमन्त्री नबने जनकपुरमा आएर आत्मदाह गर्ने चेतावनीसमेत दोहोर्‍याए । सिंहको यस्तो अभिव्यक्तिप्रति कार्यक्रममा सहभागीहरूबीच मिश्रित प्रतिक्रिया देखिएको थियो।

भाषणका क्रममा सिंहले मधेशलाई नेतृत्वको अवसर दिन आग्रह गर्दै मतदातासँग भावनात्मक अपिलसमेत गरे । “मसँग केही छैन, केवल गम्छामा भिख माग्छु । मधेशलाई प्रधानमन्त्री देऊ,” भन्दै उनले बालेनलाई प्रधानमन्त्री बनाउन समर्थन गर्न आग्रह गरे।

डा. सिंह केही समयअघि मात्र रास्वपामा प्रवेश गरेका हुन् । उनको यो अभिव्यक्तिपछि सामाजिक सञ्जाल र राजनीतिक वृत्तमा तीव्र बहस सुरु भएको छ । कतिपयले यसलाई अतिरञ्जित र गैरजिम्मेवार भनाइ भनेका छन् भने केहीले भावनात्मक समर्थनको रूपमा व्याख्या गरेका छन्।

राजनीतिक विश्लेषकहरू भने सार्वजनिक मञ्चमा यस किसिमका अभिव्यक्तिले राजनीतिक बहसभन्दा बढी उत्तेजना फैलाउने खतरा रहेको बताउँछन्। यस विषयमा रास्वपाले भने औपचारिक प्रतिक्रिया जनाएको छैन।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार