काठमाडौं । पाठेघरको मुखको क्यान्सरविरुद्ध प्रभावकारी मानिने ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) खोप अभियान आजदेखि देशभर सुरु गरिएको छ । राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत सञ्चालन भएको यो अभियान फागुन १५ गतेसम्म चल्नेछ ।
स्वास्थ्य सेवा विभागको खोप शाखा प्रमुख डा. अभियान गौतमका अनुसार अभियानमा कक्षा ६ मा अध्ययनरत सबै छात्रा तथा विद्यालय बाहिर रहेका १० वर्ष उमेरका बालिकालाई एचपीभी खोप लगाइनेछ । यस्तै, गत वर्षको एचपीभी खोप अभियानमा छुटेका कक्षा ७ देखि १० सम्म अध्ययनरत छात्रा तथा विद्यालय बाहिर रहेका ११ देखि १४ वर्ष उमेर समूहका किशोरीलाई पनि खोप दिने व्यवस्था गरिएको छ ।
यो अभियानमार्फत झन्डै साढे तीन लाख बालिकालाई खोप लगाउने लक्ष्य लिइएको छ । खोप विभिन्न पालिकामा फरक–फरक दिनमा सञ्चालन हुने भएकाले नजिकको विद्यालय वा स्वास्थ्य संस्थामा सम्पर्क गरेर खोप लगाउन स्वास्थ्य सेवा विभागले आग्रह गरेको छ ।
एचपीभी खोप सुरक्षित, प्रभावकारी र पूर्ण रूपमा निःशुल्क रहेको जनाउँदै केन्द्रले ढुक्क भएर खोप लगाउन आग्रह गरेको छ । अध्ययनहरूका अनुसार प्रारम्भिक किशोरावस्थामा एचपीभी खोप लगाउँदा पाठेघरको मुखको क्यान्सरविरुद्ध बढी प्रभावकारी हुने देखिएको छ ।
गत वर्ष सञ्चालन गरिएको एचपीभी खोप अभियानमा झन्डै १६ लाख किशोरीले खोप लगाएका थिए । सो अभियानमा करिब ९४ प्रतिशतले खोप सेवा लिएका थिए ।
पाठेघरको मुखको क्यान्सर हुने प्रमुख कारण एचपीभी संक्रमण हो । यो भाइरसका २ सयभन्दा बढी प्रकार रहेका छन् । नेपालमा हरेक वर्ष दुई हजारभन्दा बढी महिलामा पाठेघरको मुखको क्यान्सर हुने गरेको अनुमान छ । महिलामा हुने क्यान्सरमध्ये यो दोस्रो प्रमुख क्यान्सर हो भने क्यान्सरका कारण महिलाको मृत्यु हुने मुख्य कारणसमेत यही रोग रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्