Skip to content

चुनावमा खटिएका १२ जना सुरक्षाकर्मी र दुई मतदान अधिकृतको मृत्यु

कालोपाटी

५८ मिनेट अगाडि

काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचनमा सर्लाहीको पर्सा गाउँपालिका–४, जिगडवास्थित आधारभूत विद्यालय मतदान केन्द्रमा खटिएका रघुनाथ महतो मङ्गलबार अचानक बेहोस भए । रौतहट घर भएका ४२ वर्षीय सिनियर अहेब महतोलाई निर्वाचनमा खटिएका सहकर्मीहरूले अस्पताल पुर्‍याए । प्रादेशिक अस्पताल मलंगवामा उपचारको क्रममा उनको निधन भयो ।

महतो रौतहटको माधव नारायण नगरपालिका–६ का बासिन्दा हुन् । उनी सर्लाहीको बरहथवा नगरपालिका–५ स्थित आधारभूत स्वास्थ्य केन्द्र बरहथवामा सिनियर अहेबको रूपमा कार्यरत थिए । उनको शव प्रादेशिक अस्पतालमा पोस्टमार्टम गरिएको छ । उनको मृत्युको कारण खुलेको छैन ।

कञ्चनपुरमा फागुन १८ मा राति खाना पकाउँदा निर्वाचन प्रहरी मानसिंह राना अचेत भए । पुनर्वास नगरपालिका–९ स्थित सीता बस्तीमा रहेको जीवनशक्ति आधारभूत मतदानस्थलमा खटिएका ३५ वर्षीय मानसिंह रानाको धनगढीस्थित निसर्ग अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी हेमबहादुर शाहीले बताए । उनी उच्च रक्तचाप र मधुमेहबाट पीडित थिए ।

बैतडीमा १ महिनाको अवधिमा ३ जना निर्वाचन प्रहरीको मृत्यु भएको छ । मृत्यु हुनेमा ३८ वर्षीय राजेन्द्र प्रसाद भट्ट, ३८ वर्षीय महादेव वड र ३२ वर्षीय प्रकाश चन्द छन् ।

दशरथचन्द नगरपालिका–३ घर भएका चन्दको निर्वाचन सुरक्षाको ड्युटी सकेर फर्किने क्रममा भिरबाट लडेर मृत्यु भएको हो । अरू दुई जना अचेत भएर ढलेका र उपचारको क्रममा मृत्यु भएको प्रहरी प्रवक्ता (डीआईजी) अबि नारायण काफ्लेले बताए ।

काफ्लेका अनुसार प्रतिनिधि सभा निर्वाचनको सुरक्षामा खटिएका ११ जना निर्वाचन प्रहरी र दुर्घटनामा परेर एक जना प्रहरी सहायक निरीक्षक ९असई०को मृत्यु भएको छ ।

फागुन १८ मा रामेछापको रामेछापमा नगरपालिका–२ स्थित सिरुवारीमा ना.७ ख ६७६८ नम्बरको निशान गाडी दुर्घटना हुँदा असई पर्शुराम यादवको मृत्यु भएको थियो । उनको शव पोष्टमार्टमपछि गृहजिल्ला सप्तरीको रुपनी गाउँपालिका–१ मा पठाएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

४० दिन सरकारी सेवा गर्न भनेर भर्ना भएका ११ जना निर्वाचन प्रहरीले निर्वाचन सुरक्षाको दौरानमा ज्यान गुमाएका छन् । रुपन्देहीमा १ जना, बारामा २ जना, महोत्तरीमा १ जना र नवलपरासीमा १ जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

फागुन १८ मा मकवानपुरमा गाडीको ठक्करबाट २४ वर्षीय पवन कुमार शाहको मृत्यु भयो । उनी निर्वाचन प्रहरी हुन् । रौतहट घर भएका शाह इलाका प्रहरी कार्यालय पशुपतिनगरमा खटिएका थिए ।

रामेछापमा गाडी दुर्घटना हुँदा मतदान गराउन जाँदै गरेका मतदान अधिकृत ५७ वर्षीय डोर प्रसाद घिमिरेको मृत्यु भयो । उनी मन्थलीबाट मतपत्र लिएर सितलदेवी मावी सिरुवारी र रामेछाप नगरपालिका–३ स्थित वडा कार्यालय भवन जाँदै थिए । मृतक घिमिरे मन्थली नगरपालिका–१ स्थित भैंसेश्वर बस्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार