Skip to content

नेविसंघमा ‘अवैधानिक’ गतिविधि बढेको भन्दै कांग्रेस केन्द्रीय समितिको ध्यानाकर्षण

कालोपाटी

२ घण्टा अगाडि

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) का कार्यकर्ताहरूले संगठनभित्र पछिल्लो समय देखिएका गतिविधिप्रति गम्भीर चिन्ता व्यक्त गर्दै पार्टी नेतृत्वको ध्यानाकर्षण गराएका छन् ।

आइतबार नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिलाई एक ज्ञापनपत्र बुझाउँदै उनीहरूले संगठनको ऐतिहासिक गरिमा र विधानको रक्षा गर्न माग गरेका हुन् । ज्ञापनपत्रमार्फत नेविसंघका आस्थावान कार्यकर्ताहरूले नेपालको लोकतान्त्रिक आन्दोलनमा संघले पु¥याएको योगदानको स्मरण गर्दै स्थापनाकालदेखि नै संगठनले कांग्रेसको आदर्श र सिद्धान्तलाई आत्मसात् गर्दै आएको उल्लेख गरेका छन् ।

लोकतन्त्रका लागि विद्यार्थीहरूले गरेको त्याग र बलिदानबाट निर्माण भएको संगठनको छवि जोगाउनु अहिलेको मुख्य चुनौती रहेको उनीहरूको भनाइ छ । कार्यकर्ताहरूले संगठनभित्र भइरहेका कतिपय गतिविधिलाई ‘अवैधानिक’ र ‘अनुशासनहीन’ भन्दै आपत्ति जनाएका छन् । विशेषगरी, नेविसंघलाई पार्टीबाट अलग्याउने आशयका साथ सञ्चार माध्यममा भइरहेका प्रचारबाजीलाई संगठनविरुद्धको कार्यका रूपमा लिइएको ज्ञापनपत्रमा उल्लेख छ ।

“अवैधानिक प्रक्रियाका आधारमा नेविसंघलाई पार्टीबाट अलग्याउने भन्दै सञ्चार माध्यममार्फत गरिएको प्रचार गम्भीर अनुशासनहीनता हो,“ ज्ञापनपत्रमा भनिएको छ, “यस्ता गतिविधिले संगठनको हित गर्दैनन् ।“

त्यसैगरी, उनीहरूले २०८२ चैत ६ गते त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरमा आयोजना गरिएको भनिएको बैठकको वैधानिकतामाथि पनि प्रश्न उठाएका छन् । उक्त बैठकमा विधानअनुसार आवश्यक गणपूरक संख्या (कोरम) नपुगेको दाबी गर्दै त्यसलाई मान्यता दिन नसकिने कार्यकर्ताहरूको तर्क छ । विधानविपरीतका यस्ता गतिविधिले संगठनलाई कमजोर बनाउने भन्दै उनीहरूले पार्टी नेतृत्वलाई यसतर्फ गम्भीर हुन आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार