आदरणीय मीनबहादुर गुरुङज्यू नमस्कार ।
कसैले लडेपछि उठ्न तपाईंबाट सिकोस् । जेनजी आन्दोलनपछि भाटभटेनी जसरी उठ्यो, त्यसका लागि तपाईंलाई इतिहासलेसमेत सम्झिरह्नेछ । अव सबै सकियो भन्नेहरुलाई तपाईंले लडेर कसरी उठ्ने भन्ने सिकाउनुभएको छ । यसका लागि तपाईंलाई एक होइन, करोड सलाम ! तर, केहि दिन अघि मैले भाटभटेनी जाँदा जुन दृश्य देखेँ, त्यसले मन अमिलो भएको छ ।
नेपालको सबैभन्दा ठूलो डिपार्टमेन्ट स्टोर सञ्चालन गर्ने व्यवसायीका रूपमा तपाईंको नामसँग लाखौं नेपालीको विश्वास जोडिएको छ । परिवारका सदस्यदेखि साना नानीबाबुसम्म किनमेलका लागि भाटभटेनी पुग्छन् । त्यसैले तपाईंको स्टोरमा के राखिन्छ, कसरी राखिन्छ र कसलाई लक्षित गरेर राखिन्छ भन्ने विषय केवल व्यापारको विषय होइन, सामाजिक जिम्मेवारीको विषय पनि हो ।
डिपार्टमेन्ट स्टोरहरूमा सामान्यतया चकलेट, बिस्कुट, खेलौना जस्ता सामग्री बच्चाहरूले सजिलै देख्ने र समाउने ठाउँमा राखिन्छन् । किनभने ती वस्तुहरू बालबालिकाको रुचिसँग सम्बन्धित हुन्छन् । यो तपाईंको व्यापारिक शैलीको म फ्यान पनि हो । तर, बालबालिकाले प्रयोग गर्नु नहुने वा उनीहरूका लागि हानिकारक हुन सक्ने वस्तुहरू भने उनीहरूको पहुँचभन्दा टाढा राख्नुपर्ने डिपार्टमेन्ट स्टोरको जिम्मेवारी हो । यो विश्वव्यापी रूपमा स्वीकारिएको खुद्रा व्यापारको आधारभूत अभ्यास पनि हो ।
तर, हाल भाटभटेनीका केही शाखाहरूमा बालबालिकाले सबैभन्दा धेरै खोज्ने चकलेट राखिएको र्याकमै ‘एक्सट्रिम’ नामक बालबालिकाका लागि घातक इनर्जी ड्रिङ्क राखिएको दृश्य देखिएको छ । चकलेट खोज्दै गएका बालबालिकाको हातमा त्यही ड्रिङ्क पुग्ने सम्भावना अत्यन्त उच्च छ । अझ आकर्षक प्याकेजिङ र चम्किलो डिजाइनले बालबालिकालाई त्यसतर्फ झन् आकर्षित गर्न सक्छ । तपाईं आफैँ सोच्नुहोस् त बच्चाले त्यो एक्सट्रिम खाईदियो भने के हुन्छ ?
यहाँ प्रश्न उठ्छ– के यो केवल व्यापार हो ? कि बालबालिकाको स्वास्थ्यभन्दा बिक्रीलाई प्राथमिकता दिने निर्णय ठिक छ त ? तपाईंको जानकारी विना त यो काम पक्कै भएन होला । अनि, अव आफैँ सोच्नुस् त, ‘के यो काम ठिक भयो ?’
अभिभावकहरू आफ्ना छोराछोरीलाई चकलेट किनिदिन स्टोरमा लैजान्छन्, इनर्जी ड्रिङ्क किनिदिन होइनन् । तर जब चकलेट र बालबालिकाका लागि अनुपयुक्त मानिने पेय पदार्थ एउटै स्थानमा राखिन्छ, त्यसले अभिभावकलाई समेत झुक्याउने अवस्था सिर्जना गर्छ ।
तपाईंले वर्षौंको मेहनतबाट भाटभटेनीलाई नेपालीहरूको विश्वासको ब्रान्ड बनाउनुभएको छ । तर त्यही विश्वासमाथि प्रश्न उठ्ने गरी बालबालिकालाई लक्षित स्थानमा यस्ता उत्पादन राखिनु कत्तिको उचित हो ?
हामी तपाईंलाई दोषी करार गर्न खोजिरहेका छैनौं । बरु एउटा जिम्मेवार व्यवसायीका रूपमा तपाईंको ध्यानाकर्षण गराउन खोजिरहेका छौं । पैसाका लागि जे पनि गर्नु हुँदैन भन्ने बुझेको व्यवसायी भएकाले तपाईंलाई यदि कुनै उत्पादन बालबालिकाका लागि उपयुक्त छैन भने त्यसलाई चकलेट र बाल सामग्रीसँगै राखिनु हुँदैन भनेर स्मरण गराउन मात्र खोजेका हौँ । बिक्री बढाउने रणनीतिभन्दा बालबालिकाको स्वास्थ्य र सुरक्षालाई माथि राख्नुपर्छ भन्ने सम्झाउन खोजेका हौँ। तपाईं त हजुरबुवा भईसक्नु भएको मान्छे हो, तपाईंको कलिलो नाती/ नातिनीले एक्सट्रिमजस्तो बालबालिकालाई घातक झोल पिउँछु भन्यो भने दिन सक्नुहुन्छ ? हिजो रेडबुलजस्ता अन्य इनर्जी ड्रिङ्क त्यसरी राख्न नदिने अनि अहिले एक्सट्रिमलाई बालबालिकालाई नै असर गर्नेगरी ती झोल पदार्थ राख्न तपाईंलाई अलिकति पनि अफ्ट्यारो लागेन । आगे तपाईंकै इक्षा ।
मीनबहादुर गुरुङज्यू,
तपाईं आफैं पनि अभिभावक हुनुहुन्छ । तपाईंका आफ्नै सन्तान वा नातिनातिनाले चकलेट खोज्दै जाँदा यस्ता पेय पदार्थ सजिलै हात पारून् भन्ने चाहनुहुन्छ होला र ?
यदि चाहनुहुन्न भने, लाखौं नेपालीका छोराछोरीका हकमा पनि त्यही संवेदनशीलता देखाइदिनुहोस् ।
व्यापारले नाफा कमाओस्, तर त्यो नाफा बालबालिकाको स्वास्थ्यको मूल्यमा होइन ।
यही अपेक्षासहित,
एक चिन्तित अभिभावक तथा जिम्मेवार समाजको आवाज ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
मेरो एउटा कुरा छ
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्