Skip to content

Exclusive : गम्भीर आर्थिक संकटमा डिस होम, आइपीओको सपना पनि तुहिने संकेत, मर्जरका लागि पार्टनर खोज्दै !

कालोपाटी

२६ मिनेट अगाडि

काठमाडौँ । आइपीओको तयारीमा रहेको भनिएको डिस मिडिया नेटवर्क लिमिटेड गम्भीर आर्थिक संकटमा परेको पाइएको छ ।  भेण्डरलाई तिर्नुपर्ने सामान्य रकमसमेत महिनौँसम्म तिर्न नसकेको तथ्य बाहिरिएसँगै कम्पनी टाँट पल्टिने अवस्थामा पुगेको पाइएको हो ।

कम्पनीका अधिकारीहरुले पनि अहिले कम्पनीको ‘क्यास फ्लो’ बिग्रिएको र सोहि कारण भेण्डरहरुको पैसा तिर्न नसकेको स्वीकार गरेका छन् । ती अधिकारीहरुले अव स्वतन्त्र रुपमा कम्पनी चल्न सक्ने स्थिति नदेखेकै कारण कम्पनीले मर्जरको पार्टनर खोजिरहेको दाबी गरेका छन्।

आर्थिक रुपमा निकै कमजोर भएपछि कम्पनी आइपीओको तयारीबाटसमेत ब्याक भएको दाबी डिस होमका कर्मचारीहरुको छ । उनीहरुले कम्पनी उठ्नै नसक्नेगरी टाँट पल्टिने स्थिति आएपछि आइपीओको तयारीबाट हटेर मर्जरको तयारीमा लागेको दाबी गरेका हुन् ।

‘कम्पनी मर्जरको तयारीमा छ । सोहि अनुसार केहि पार्टनरसँग कुरा पनि भईरहेको छ ।’ डिस होमका एक उच्च अधिकारीले कालोपाटीसँग भने, ‘आइपीओ आउने सम्भावना लगभग सकिएको छ । कम्पनीले भेण्डरलाई सामान्य रकमसमेत तिर्न सकेको छैन । व्यापार व्यवसायको बिजोगको त के कुरा गर्नु र ?’

केहि समय यतादेखि डिस होमका कष्टमरहरु निकै घटेका छन् भने भएकाहरुले पनि रिचार्ज गरेका छैनन् । डिस होमले डि गो एप ल्याएसँगै डिस होमबाट टिभी हेर्नेको संख्यासमेत घटेको छ । विश्वकपका बेला टिभी रिचार्ज गर्नेको संख्या बढ्ने अनुमान गरिएपनि अनुमान अनुसार कष्टमर नबढेको डिस होमकै स्वीकारोक्ति छ । नयाँ कष्टमरको संख्या त झन् नगन्य भएपछि कम्पनी अव मर्जरमा जाने तयारीमा लागेको हो ।

यसो त डिस मिडियालाई टुक्र्याएर डिस होमको इन्टरनेट वाला छुट्टै कम्पनी बनाएर त्यसलाई कुनै अरु आईएसपीसँग मर्जरमा लाने र डिस होम अहिलेकै कम्पनीमा राखेर आइपीओमा जाने तयारीका बारे पनि डिस होमले छलफल गरेको थियो । तर त्यसो गर्दा पनि धितोपत्र बोर्डले साथ नदिने देखेपछि कम्पनी पूरै अर्को कुनै आईएसपीसँग मर्जरमा जाने भएको हो । कम्पनीले पनि मर्जरका लागि केहिसँग कुरा भईरहेको पुष्टी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार