Skip to content

ऋण असुलीमा जबर्जस्ती नगर्न गृहको निर्देशन

कालोपाटी

४ घण्टा अगाडि

काठमाडौँ । ऋण असुलीका नाममा ऋणीमाथि यातना दिने, घरबाट जिन्सी सामान उठाएर लैजाने तथा किस्ता नतिरेसम्म घरमै बसेर दबाब दिने कार्य नगर्न गृह मन्त्रालयले देशभरका जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ।

गृह मन्त्रालयको शान्ति, सुरक्षा तथा अपराध नियन्त्रण शाखाले राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान, नेपालसँग भएको सहमति कार्यान्वयनका लागि जिल्ला प्रशासन कार्यालयहरूलाई पत्राचार गर्दै यस्तो निर्देशन दिएको हो। सरकार र उक्त अभियानबीच गत भदौ ६ गते विभिन्न विषयमा सहमति भएको थियो।

मन्त्रालयले ऋण असुलीका क्रममा ऋणीलाई शारीरिक वा मानसिक यातना दिने, घरबाट जिन्सी सामान उठाएर लैजाने, किस्ता नतिरेसम्म संस्थाका कर्मचारी घरमै बसेर दबाब तथा धरपकड गर्ने, गालीबेइज्जती गर्ने वा दुर्व्यवहार गर्नेजस्ता गतिविधि गैरकानुनी हुने स्पष्ट पारेको छ।

यस्ता कार्यबाट पीडित भएका व्यक्तिले सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा उजुरी दिन सक्नेछन्। उजुरी प्राप्त भएमा प्रचलित कानुनबमोजिम आवश्यक कारबाही प्रक्रिया अघि बढाउन गृह मन्त्रालयले प्रशासन कार्यालयहरूलाई निर्देशन दिएको छ।

मन्त्रालयले सहमति तथा मन्त्रिपरिषद्को निर्णयअनुसार आवश्यक कार्यान्वयन र सम्बन्धित निकायसँग समन्वय गर्नसमेत जिल्ला प्रशासन कार्यालयहरूलाई आग्रह गरेको छ। कानुनी प्रक्रिया मिचेर ऋण असुलीका नाममा हुने दबाब, धम्की र दुर्व्यवहार नियन्त्रण गर्दै ऋणीको अधिकार संरक्षण गर्ने उद्देश्यले सरकारको यस्तो निर्देशन आएको हो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार