काठमाण्डौ । तास खेलिरहेको स्थानबाट प्रहरीले पक्राउ गरेका एक जनाको मृत्यु भएको छ । एक जनाको घाइते अवस्थामा उपचार भइरहेको छ ।
सोमबार राति करिब साढे ११ बजे विराटनगर महानगरपालिका– ६ सरोचियास्थित लालु पासवानको घरमा तास खेल्दै गरेका बेला प्रहरीको गस्ती टोली पुगेपछि भागाभग भएको थियो ।सोही क्रममा पक्राउ परेका विराटनगर महानगरपालिका–१४ का ५५ वर्षीय बलराम कोइरालाको मंगलबार बिहान मृत्यु भएको हो । दुई तलाबाट हामफालेका विराटनगर–८ का ४१ वर्षीय चन्दन मुखियाको भने दाहिने खुट्टा भाँच्चिएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता मकेन्द्रकुमार मिश्रका अनुसार सोमबार राति तास खेलिरहेको स्थानबाट ८ जना पक्राउ परेका थिए । प्रहरीको गस्ती टोली पुगेपछि तास खेलिरहेका व्यक्तिहरूको भागाभाग हुँदा कोइराला सामान्य घाइते भएका थिए ।पक्राउ परेपछि स्वास्थ्य जाँच गर्दा अवस्था सामान्य देखिएपछि सोमबार राति कोइरालासहित सात जनालाई हिरासतमा ल्याएर राखिएको मिश्रले जानकारी दिए । खुट्टा भाँच्चिएका घाइतेको भने श्री अस्पतालमा उपचार भइरहेको छ ।
हिरासतमा रहेका अन्य सात जनासँगै रहेका कोइराला मंगलबार बिहान करिब साढे ७ बजे अचेत अवस्थामा भेटिएका थिए । पक्राउ परेका अन्यले उठाउन खोज्दा नउठेपछि प्रहरीले उपचारका लागि कोशी अस्पताल पठाएको थियो ।
कोशीमा उपचार हुन नसकेपछि उनलाई नोबेल शिक्षण अस्पतालमा भर्ना गरिएको थियो । नोबेल शिक्षण अस्पतालमा चिकित्सकले मंगलबार करिब ११ बजे मृत घोषित गरेका हुन् । मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मिश्रका अनुसार उनको शव नोबेल अस्पतालमै छ ।
प्रहरीका अनुसार दुर्घटनामा परेका कोइरालाको यसअघि नै टाउकाको शल्यक्रिया भएको थियो । उनको मृत्युको कारण भने तत्काल खुल्न बाँकी रहेको मिश्रले बताए ।
सोमबार राति प्रहरीको गस्ती टोलीलाई देखेपछि तास खेलिरहेका व्यक्तिहरूको भागभाग भएको थियो । सुरुमा प्रहरीलाई त्यहाँ तास खेलिरहेको जानकारी थिएन । प्रहरी पुगेपछि दुई तलामाथिबाट हामफालेका विराटनगर–८ का ४१ वर्षीय चन्दन मुखियाको दाहिने खुट्टा भाँचिएको थियो । उनी एम्बुलेन्स चालक हुन् ।
पासवानको घरबाट प्रहरीले मृतक कोइराला र घाइते मुखियासँगै मोरङको धनपालथान गाउँपालिका–६ का ३३ वर्षीय साजन राजवंशी, विराटनगर–४ का ५२ वर्षीय सत्यनारायण राजवंशी, ४८ वर्षीय तोरण यादव, विराटनगर–६ का २६ वर्षीय राजेश कामत, ५३ वर्षीय गंगाराम मण्डल र ४३ वर्षीय विष्णु कामतलाई पक्राउ गरेको थियो ।
उनीहरूको साथबाट ४८ हजार ३९५ रुपैयाँ नगद बरामद भएको प्रहरीले जनाएको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
मेरो एउटा कुरा छ
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्