Skip to content

युवाको आवाजलाई मञ्च दिँदै ‘भोइसक्राफ्ट’

कालोपाटी

२ घण्टा अगाडि

काठमाडौँ । विभिन्न क्षेत्र, पेसा र उमेर समूहका मानिसलाई एउटै मञ्चमा भेला गराएर विचार तथा अभिव्यक्तिको शक्ति मनाउने उद्देश्यले ‘भोइसक्राफ्ट’ नामक सार्वजनिक वक्तृत्व मञ्च सञ्चालन हुँदै आएको छ।

सरोज ताम्राकार र सन्दीप धवाको संयुक्त नेतृत्वमा सञ्चालित यस मञ्चको आयोजना रूपिज इन्टरनेसनल स्कुलका ए लेभलका विद्यार्थीहरूले गरेका हुन्। सार्वजनिक रूपमा बोल्दा लाग्ने डर हटाउँदै विद्यार्थी तथा नयाँ वक्तामा आत्मविश्वास र नेतृत्व क्षमता विकास गर्ने उद्देश्यले कार्यक्रम प्रत्येक महिना आयोजना हुँदै आएको छ।

भोइसक्राफ्टको पहिलो कार्यक्रम मार्च १५ मा आयोजना गरिएको थियो। त्यसयता बाफलस्थित रूपिज इन्टरनेसनल स्कुलमा हरेक महिना कार्यक्रम सञ्चालन हुँदै आएको आयोजकले जनाएको छ। सन् २०२६ को अन्त्यसम्ममा कम्तीमा १०० जना आत्मविश्वासी वक्ता तयार गर्ने आयोजकको लक्ष्य छ।

कार्यक्रम मुख्यतः दुई खण्डमा सञ्चालन हुन्छ। पहिलो खण्डमा सहभागीले पूर्वतयारीसहित भाषण प्रस्तुत गर्छन् भने दोस्रो खण्डमा तत्काल विषय दिएर बोल्नुपर्ने अभ्यास गराइन्छ। तत्काल बोल्ने अभ्यासलाई ‘भोइसस्पार्क’ नाम दिइएको छ।

कार्यक्रममा एमसी, सहजकर्ता, समय व्यवस्थापक र मूल्याङ्कनकर्ताको समेत भूमिका रहने गरेको छ। समय व्यवस्थापकले निर्धारित समयभित्र प्रस्तुति पूरा गर्न सहयोग गर्छन् भने मूल्याङ्कनकर्ताले वक्ताको प्रस्तुति, बोल्ने शैली र सुधार गर्नुपर्ने पक्षबारे प्रतिक्रिया दिने गर्छन्।

आयोजकका अनुसार सार्वजनिक वक्तृत्व केवल बोल्ने अभ्यासमा सीमित नभई आफ्ना विचार व्यक्त गर्ने, अरूसँग सम्बन्ध स्थापित गर्ने र नेतृत्व क्षमता विकास गर्ने माध्यमसमेत हो। त्यसैले भोइसक्राफ्टले नयाँ तथा सुरुवाती चरणका वक्तालाई मञ्चमा उभिएर आफ्ना विचार राख्ने अवसर प्रदान गर्दै आएको छ।

सानो समूहबाट सुरु भएको यो प्रयास अहिले आत्मविश्वास, सिर्जनशीलता र प्रभावकारी अभिव्यक्ति विकास गर्ने सार्वजनिक मञ्चका रूपमा अघि बढिरहेको आयोजकको भनाइ छ। आगामी दिनमा पनि सिकाइ, आत्मविश्वास र नेतृत्व विकासका थप अवसर सिर्जना गर्दै कार्यक्रमलाई निरन्तरता दिने आयोजकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार