काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको सुरुवाती चरणमा स्वदेशी खेलाडीहरुले उत्कृष्ट छाप छोडेका छन् ।
नेपाली खेलाडीहरुको प्रदर्शन महंगो मूल्यमा खरिद गरिएका विदेशी स्टारहरुको भन्दा कुनै पनि हिसाबले कम छैन ।
ब्याटिङमा छक्का–चौकाको वर्षा होस् वा बलिङमा विपक्षीको विकेट झार्ने प्रतिस्पर्धा, नेपाली खेलाडीले प्रतियोगिताको सुरुवाती चरणमा प्रभावशाली प्रदर्शन गरेका छन् ।
प्रतियोगिताका पहिलो ६ खेल सकिँदा एउटा सुखद संयोग देखिएको छ । ६ वटै खेलमा प्लेयर अफ द म्याच नेपाली खेलाडी नै भएका छन् ।
विदेशी खेलाडीको अनुभव र अन्तर्राष्ट्रिय पहिचानका बीच नेपाली खेलाडीले लगातार उत्कृष्ट प्रदर्शन गर्दै व्यक्तिगत पुरस्कार आफ्नो पक्षमा पारेका हुन् ।
पहिलो खेलमा शेर मल्ल, दोस्रोमा कमलसिंह ऐरी, तेस्रोमा युनिश विक्रम सिंह ठकुरी, चौथोमा दीपेन्द्र सिंह ऐरी, पाँचौँमा राहुल यादव र छैटौँमा सोमपाल कामी ‘प्लेयर अफ द म्याच’ घोषित भए ।
पहिलो तीन खेलमा नेपाली बलरले यो पुरस्कार जितेका थिए भने त्यसपछि ब्याटिङ र अलराउन्ड प्रदर्शनले नेपाली खेलाडीलाई उत्कृष्ट बनायो ।
यो संयोग मात्र होइन, प्रतियोगिताको सुरुवाती प्रदर्शनले दिएको एउटा महत्त्वपूर्ण संकेत पनि हो । नेपाली खेलाडी टोलीमा स्थान पूरा गर्ने भूमिकामा मात्र छैनन्, खेलको नतिजा बदल्ने जिम्मेवारी पनि उठाइरहेका छन् ।
एनपीएलको पहिलो खेलमै लुम्बिनी लायन्सका शेर मल्लले सुदूरपश्चिम रोयल्सविरुद्ध चार ओभरमा ११ रन मात्र खर्चेर तीन विकेट लिए । उनको किफायती बलिङका कारण सुदूरपश्चिम ८७ रनमै समेटियो । लुम्बिनीले सहज जित निकाल्दा मल्लको प्रदर्शन निर्णायक बन्यो ।
दोस्रो खेलमा चितवन राइनोजका कमलसिंह ऐरीले विराटनगर किङ्सविरुद्ध चार विकेट लिए । उनले चार ओभरमा २६ रन खर्चिएका थिए । विराटनगरको इनिङ्सको अन्त्यतिर उनले लगातार विकेट निकाल्दै खेल चितवनको पक्षमा मोडे । चितवन आठ रनले विजयी भयो ।
तेस्रो खेलमा कर्णाली याक्सका युनिश विक्रम सिंह ठकुरीले जनकपुर बोल्ट्सविरुद्ध चार ओभरमा २२ रन दिएर तीन महत्वपूर्ण विकेट लिए । उनको बलिङले जनकपुरलाई ११३ रनमै सीमित गर्न महत्त्वपूर्ण भूमिका खेल्यो ।
कर्णालीले १९ रनको जित निकाल्यो । चौथो खेलमा भने ब्याटिङ र बलिङ दुवैबाट योगदान दिने दीपेन्द्रसिंह ऐरी उत्कृष्ट बने ।
पोखरा एभेन्जर्सविरुद्ध उनले ३६ बलमा अविजित ५१ रन बनाए र बलिङमा एक विकेट लिए । सुदूरपश्चिमले १४६ रनको लक्ष्य सहजै पछ्याउँदै ६ विकेटको जित निकाल्यो ।
पाँचौँ खेलमा जनकपुर बोल्ट्सका युवा बलर राहुल यादवले काठमाडौं गोर्खाजविरुद्ध चार ओभरमा ३१ रन दिएर चार विकेट लिए । काठमाडौं ११५ रनमा समेटियो । जनकपुरले आठ विकेटको जित निकाल्दा राहुलको बलिङ निर्णायक बन्यो ।
छैटौँ खेलमा कर्णाली याक्सका कप्तान सोमपाल कामीले त झन् उत्कृष्ट अलराउन्ड प्रदर्शन गरे । विराटनगर किङ्सविरुद्ध चार विकेट लिएपछि उनले ब्याटिङमा अविजित ६२ रन बनाए ।
रोमाञ्चक प्रतिस्पर्धामा कर्णालीले १८७ रनको लक्ष्य एक बल बाँकी छँदा चार विकेटले जित्यो । यसरी नेपाली खेलाडी चम्किँदा म्यान अफ दि म्याचमा विदेशी खेलाडीको पालो नै आएको छैन ।
ब्याटिङमा लोकेश बम शीर्षस्थानमा
बलिङमा नेपाली खेलाडीको प्रभाव देखिँदा ब्याटिङमा पनि उनीहरू पछि छैनन् ।
प्रतियोगिताका सुरुवाती ६ खेलपछि सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा विराटनगर किङ्सका लोकेश बम शीर्षस्थानमा छन् ।
लोकेशले कर्णाली याक्सविरुद्ध ५२ बलमा ८७ रन बनाएका थिए । उनको पारीमा तीन चौका र नौ छक्का सामेल थिए । उनले आक्रामक ब्याटिङ गर्दै विराटनगरलाई १८६ रनको बलियो योगफलसम्म पुर्याए ।
विराटनगरले सुरुवातमा विकेट गुमाए पनि लोकेशले इनिङ्स सम्हाले । उनले विपक्षी बलरमाथि दबाब सिर्जना गर्दै छक्काको वर्षा गरे । टी–२० क्रिकेटमा तीव्र गतिमा रन बनाउन सक्ने ब्याटरको महत्त्व कति हुन्छ भन्ने उनको पारीले देखायो ।
तर व्यक्तिगत रूपमा उत्कृष्ट प्रदर्शन गरे पनि विराटनगरले खेल जित्न सकेन । कर्णालीले कठिन लक्ष्य पछ्याउँदै जित निकाल्यो ।
लोकेशको पारी र सोमपालको अलराउन्ड प्रदर्शन एउटै खेलमा देखिनुले एनपीएलमा नेपाली खेलाडीले ब्याट र बल दुवैबाट कस्तो प्रतिस्पर्धा गरिरहेका छन् भन्ने स्पष्ट पार्छ ।
लोकेशपछि सर्वाधिक रन बनाउने सूचीमा सुदूरपश्चिम रोयल्सका दीपेन्द्र सिंह ऐरी दोस्रो स्थानमा छन् । उनले दुई खेलमा ७८ रन बनाएका छन् । जनकपुरका विदेशी खेलाडी मोइन अली ७७ रनसहित तेस्रो स्थानमा रहँदा कर्णालीका अरिफुल इस्लाम ७५ र पवन सर्राफ ७३ रनसहित शीर्ष पाँचमा छन् ।
अहिलेसम्म ६ खेलमा ५ वटा मात्र अर्धशतक बनेका छन् । त्यसमध्ये दुई अर्धशतक विदेशी ३ वटा नेपाली खेलाडीको नाममा छ ।
प्रतियोगिताको पहिलो अर्धशतक चिनवन राइनोजका डेविड मलानले बनाएका थिए । विराटनगर किङ्सविरुद्धको खेलमा उनले ५० बलमा ७० रन हाने ।
मलानपछि अर्धशतक प्रहार गर्नेमा सुदूरपश्चिमका कप्तान दिपेन्द्र सिंह ऐरी, जनकपुर बोल्ट्सका मोइन अली, बिराटनगर किङ्सका लोकेस बम र कर्णाली याक्सका सोमपाल कामी छन् ।
एउटै म्याचमा सबैभन्दा उच्च स्कोर लोकेशको नाममा (८७ रन) रहेको छ । अहिलेसम्म सबैभन्दा धेरै छक्का हान्ने पनि उनी नै हुन् । लोकेशले २ खेलमै १० छक्का प्रहार गरे ।
राहुल यादवको बलिङमा कमाल
बलिङतर्फ जनकपुर बोल्ट्सका नयाँ प्रतिभा राहुल यादव सबैभन्दा प्रभावशाली नेपाली खेलाडीका रूपमा देखिएका छन् ।
प्रतियोगिताका सुरुवाती ६ खेलपछि उनी ६ विकेटसहित सर्वाधिक विकेट लिने सूचीको शीर्षस्थानमा छन् ।
ट्यालेन्ट हन्टमा भेटिएका यी खेलाडीले काठमाडौं गोर्खाजविरुद्ध चार विकेट लिएर आफ्नो क्षमता देखाए । दुवै म्याचमा उनले आफ्नो पहिलो बलमै विकेट लिएर नयाँ किर्तिमान राखेका छन् ।
१६ वर्षको उमेरमै एनपीएलजस्तो प्रतियोगितामा विदेशी स्टारसमेत रहेको विपक्षी टोलीविरुद्ध निर्णायक प्रदर्शन गर्नु नेपाली क्रिकेटका लागि उत्साहजनक संकेत हो ।
सर्वाधिक विकेट लिने सूचीमा राहुलपछि कर्णाली याक्सका सोमपाल कामी र सुदूरपश्चिमका अनिल खरेल पाँच–पाँच विकेटसहित छन् ।
जनकपुरकै हरमीत सिंह र लुम्बिनीका किशोर महतोले चार–चार विकेट लिएका छन् ।
शीर्ष स्थानमा नेपाली बलरको वर्चस्व छ । नेपाली बलरले विपक्षीलाई रन बनाउन रोक्ने मात्र होइन, नियमित विकेट निकाल्ने क्षमता पनि देखाएका छन् ।
सोमपाल कामीको अविस्मरणीय प्रदर्शन
एनपीएलको छैटौँ खेल नेपाली क्रिकेटप्रेमीका लागि विशेष रह्यो ।
कर्णाली याक्सका कप्तान सोमपाल कामीले बलिङमा चार विकेट लिएर विराटनगरलाई १८६ रनमा रोके । त्यसपछि लक्ष्य पछ्याउने क्रममा कर्णाली ५७ रनमा पाँच विकेट गुमाएर हारको संघारमा पुगेको थियो ।
यस्तो अवस्थामा सोमपालले जिम्मेवारी लिए । उनले ३२ बलमा अविजित ६२ रन बनाए । उनको पारीमा चार चौका र तीन छक्का थिए । उनले आक्रामक ब्याटिङ गर्दै कर्णालीलाई हारको मुखबाट निकालेर जितसम्म पुर्याए ।
उनले विराटनगरका लोकेश बम, एन्जेलो म्याथ्युज, आन्द्रे रसेल र चरिथ असलंकाजस्ता महत्त्वपूर्ण ब्याटरलाई आउट गरेका थिए ।
टी–२० क्रिकेटमा अलराउन्डरको भूमिका निकै महत्त्वपूर्ण हुन्छ । खेलको कुनै एक पक्ष कमजोर हुँदा अर्को पक्षबाट योगदान दिन सक्ने खेलाडीले टोलीलाई जित दिलाउन सक्छन् । सोमपालले यही भूमिका निर्वाह गरे ।
विदेशी स्टारका बीच नेपाली खेलाडीको आत्मविश्वास
यस संस्करणमा डेभिड वार्नर, मोइन अली, आन्द्रे रसेल, एन्जेलो म्याथ्युज र डेविड मिलरजस्ता अन्तर्राष्ट्रिय क्रिकेटका चर्चित खेलाडी आबद्ध छन् । उनीहरूको उपस्थितिले एनपीएलको आकर्षण बढाएको छ ।
तर प्रतियोगिताका पहिलो ६ खेलले विदेशी खेलाडीको नाम र अनुभवले मात्र खेलको नतिजा तय हुँदैन भन्ने देखायो । यद्यपि प्रतियोगिता भर्खरै सुरु भएको हुँदा अहिल्यै निस्कर्षमा पुगिहाल्न मिल्दैन ।
नेपाली खेलाडीले यही प्रदर्शनलाई निरन्तरता दिनुपर्छ, जसले हामीसँग पनि अन्तर्राष्ट्रियस्तरका खेलाडी छन् भने सन्देश विश्वमा जानेछ । भविष्यमा अन्य देशहरुमा हुने लिगमा नेपाली खेलाडीको माग बढ्न सक्नेछ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
मेरो एउटा कुरा छ
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
NPL
प्रतिक्रिया दिनुहोस्