Skip to content

विश्व शौचालय दिवस : काठमाडौँका सार्वजनिक शौचालयको अवस्था छिर्नै मुस्किल (तस्बिरहरू)

कालोपाटी

९ घण्टा अगाडि

काठमाडौँ । ‘सुरक्षित शौचालय, समान भविष्य’ नारासहित आज विश्व शौचालय दिवस मनाइँदै छ । विश्वव्यापी सरसफाइ संकट समाधान गर्न र सबैका लागि सुरक्षित शौचालयको पहुँच सुनिश्चित गर्ने उद्देश्यले हरेक वर्ष नोभेम्बर १९ मा यो दिवस मनाइन्छ ।

सन् २००१ नोभेम्बर १९ मा सिंगापुरका समाजसेवी ज्याक सिमले विश्व शौचालय संगठनको स्थापना गर्दै यो दिवस मनाउन सुरु गरेका थिए, जसलाई पछि सन् २०१३ मा संयुक्त राष्ट्रसंघको महासभाले आधिकारिक मान्यता दियो । यसरी विश्व शौचालय दिवस संगठन स्थापनाको हिसाबले २६ औँ र संयुक्त राष्ट्रसंघको आधिकारिक मान्यताको हिसाबले १४ औँ दिवस हो ।

नेपालमा जनगणना २०७८ को तथ्यांकअनुसार ६६ लाख ६० हजार ८४१ परिवारमध्ये ९५.५ प्रतिशत जनसंख्याले कुनै न कुनैको शौचालय प्रयोग गर्ने गरेका छन् । तर, ४.५ प्रतिशत जनसंख्या अझै शौचालयको पहुँच बाहिर छन् ।

२०७६ साल असोज १३ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई खुला दिसामुक्त देश घोषणा गरेका थिए । देश खुला दिसामुक्त घोषित भएपनि सार्वजनिक शौचालयको अवस्था भने दयनीय छ । काठमाडौँको टेकु दोभान, कालिमाटी तरकारी बजार, नयाँ बसपार्क, कंकेश्वरीसहित दर्जनौँ ठाउँका सार्वजनिक शौचालय निकै दुर्गन्धित छन् । कतिपय शौचालयमा पस्नै नसक्ने अवस्था छ ।

२०७९ सालमा बालेन्द्र शाह काठमाडौँको मेयर निर्वाचित भएपछि निजी शौचालय पनि सार्वजनिक प्रयोजनका लागि खुला गर्ने योजना अघि सारेका थिए । रेस्टुरेन्ट, होटेल, व्यापारिक भवन, कम्पनी र सरकार मातहतको गरेर त्यतिबेला काठमाडौँमा साढे दुई सयको हाराहारीमा सार्वजनिक शौचालय पुगेको थियो ।

उक्त समयमा महानगर मातहत ५९ वटा मात्र शौचालय थिए । सार्वजनिक र निजी क्षेत्रको साझेदारीमा खुला गरिएका कतिपय शौचालय तीन वर्षपछि आजको दिनमा बन्द भएका छन् । सरसफाइ र चोरीको समस्या बढेपछि कतिपय शौचालय सार्वजनिक प्रयोगका लागि बन्द गरिएका छन् ।

निजीलाई सार्वजनिक शौचालय बनाउँदा खर्च बढी भएपछि निजी व्यवसायीले उक्त सेवा बन्द गरेको पाइएको काठमाडौँ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले बताए । उनकाअनुसार निजी साझेदारीमा सञ्चालित शौचालय साझेदारले व्यवस्थापन गर्ने र महानगरपालिकाले बनाएका शौचालय वातावरण विभागले हेर्ने गरेका छन् ।

सार्वजनिक शौचालयको पहुँचले पछिल्लो समय जथाभावी दिसापिसाब गर्ने कम भएको उनको दाबी छ । ‘हामीले कतिलाई समातेर जरिवाना पनि गरेका छौँ । कतिलाई खुला ठाउँ नै सहज हुने हो कि ? हिजोको दिनभन्दा आज खुला दिसापिसाब गर्ने कम भएको छ,’ उनले भने, ‘सडकमा बस्ने वर्गहरू शौचालयभन्दा खुला ठाउँमै जान खोज्ने रहेछन् ।

महानगरपालिकाको अनुगमन टोलीको सक्रियताले त्यो क्रम हिजोभन्दा कम भएको छ ।’ छुट्टै कर्मचारी व्यवस्था गर्दा पनि सबै शौचालयको सरसफाइ हुन नसकेको उनले स्वीकार गरे ।

शुल्क तिरेर जानुपर्ने शौचालय पनि सरसफाइ अभावमा दुर्गन्धित छन् । पर्याप्त सार्वजनिक शौचालय नहुँदा उपत्यकामा सडक पुल र खोला किनारमा पिसाब फेर्ने गरेको पनि भेटिन्छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार