Skip to content

त्रिविको कलेजमा अन्य विश्वविद्यालयका कार्यक्रम चलाउन नपाइने, कलेजहरूसँग मागियो स्वघोषणा पत्र

कालोपाटी

३० मिनेट अगाडि

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजहरूले एउटै परिसरभित्र अन्य कुनै पनि स्वदेशी वा विदेशी विश्वविद्यालयका शैक्षिक कार्यक्रम सञ्चालन नगरेको आधिकारिक स्वघोषणा पत्र बुझाउनुपर्ने भएको छ।

उपकुलपतिको कार्यालयले बुधबार एक अत्यन्त जरुरी सूचना जारी गर्दै मंसिर १५ गतेभित्र अनिवार्य रूपमा यस्तो स्वघोषणा पठाउन क्याम्पस तथा कलेजहरूलाई निर्देशन दिएको हो।

सूचीकृत क्याम्पस तथा कलेजहरूमा नयाँ विषय, कार्यक्रम, सेक्सन एवं कोटा थप गर्ने प्रयोजनका लागि विश्वविद्यालयले यो विवरण माग गरेको जनाएको छ। त्रिवि कार्यकारी परिषद्को २०८३ कात्तिक २१ गतेको निर्णयानुसार प्रकाशित सूचनाका आधारमा यो प्रक्रिया अगाडि बढाइएको हो।

त्रि.वि. सम्बन्धन सम्बन्धी विनियम २०७३ (संशोधन सहित) को परिच्छेद १३ मा त्रिभुवन विश्वविद्यालयबाहेक अन्य कुनै विश्वविद्यालय, परीक्षा बोर्ड वा परिषद्सँग सम्बन्धन लिएर कार्यक्रम सञ्चालन गर्न नपाइने स्पष्ट कानुनी व्यवस्था रहेको छ। सोही व्यवस्थाबमोजिम क्याम्पसहरूले आफ्नो व्यवस्थापनअन्तर्गत एउटै हाताभित्र अन्य कुनै स्वदेशी वा विदेशी संस्थाबाट सम्बन्धन लिई शैक्षिक कार्यक्रम सञ्चालन नगरेको सुनिश्चित गर्न लागिएको हो।

सम्बन्धित क्याम्पस तथा कलेजहरूले सो व्यहोरा प्रमाणित हुने आधिकारिक स्वघोषणा पत्र तयार गरी विश्वविद्यालयको इमेल ठेगानामा मंसिर १५ गतेभित्र अनिवार्य रूपमा पठाइसक्नुपर्नेछ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार