काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले लैङ्गिक हिंसाविरुद्ध शून्य सहनशीलताको नीतिलाई व्यवहारमै कार्यान्वयन गर्न आह्वान गरेका छन् । उनले पीडितको संरक्षण, दण्डहीनताको अन्त्य र न्यायको सुनिश्चितता गर्न सबै पक्षलाई आग्रह गरेका हुन् ।
लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु भएको अवसरमा बुधबार शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले लैङ्गिक हिंसा मानव अधिकारको गम्भीर उल्लङ्घन तथा समतामूलक समाज निर्माणको प्रमुख चुनौती भएको बताएका छन् ।
महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सीमान्तकृत समुदाय हिंसाबाट बढी प्रभावित भइरहेको उल्लेख गर्दै उनले डिजिटल माध्यमबाट हुने हिंसा पनि थप चुनौतीका रूपमा देखिएको बताएका छन् ।
संविधानको मर्मअनुरूप समानता, सामाजिक न्याय र समावेशितालाई व्यवहारमा रूपान्तरण गर्न सबै प्रकारका हिंसाको रोकथाम, पीडितको संरक्षण, न्यायमा पहुँच र दोषीलाई कानुनी कारबाही सुनिश्चित गर्नुपर्नेमा उनले जोड दिएका छन् ।
प्रधानमन्त्री शाहले लैङ्गिक हिंसा अन्त्यका लागि कानुनी तथा संस्थागत व्यवस्था सुदृढीकरण, महिलाको सशक्तीकरण, बालिका शिक्षाको प्रवर्द्धन तथा पीडितको संरक्षण र पुनःस्थापनालाई सरकारले प्राथमिकता दिएको बताएका छन् । यी प्रयास प्रभावकारी बनाउन कानुन कार्यान्वयन, सामाजिक चेतना, संस्थागत जवाफदेहिता तथा तीनै तहका सरकारबीच समन्वय र सहकार्य आवश्यक रहेको उनको भनाइ छ ।
यसै वर्ष भदौमा भोटेकोशी क्षेत्रमा गएको बाढीबाट भएको क्षतिको प्रसङ्ग उल्लेख गर्दै प्रधानमन्त्री शाहले विपद्का समयमा लैङ्गिक हिंसाको जोखिम बढ्न सक्नेतर्फ विशेष सचेत रहन आग्रह गरेका छन् ।
अभियानलाई सफल बनाउन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घसंस्था, नागरिक समाज, निजी क्षेत्र, सञ्चारमाध्यम, राजनीतिक दल, अभियन्ता र आम नागरिकको सक्रिय सहभागिता तथा ऐक्यबद्धताका लागि पनि उनले आह्वान गरेका छन् ।
प्रत्येक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वभर सञ्चालन हुने लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान यस वर्ष पनि आजदेखि सुरु भएको हो ।
संयुक्त राष्ट्रसङ्घले यस वर्ष ‘महिला तथा बालिकामाथिको हिंसा अन्त्यका लागि एकजुट बनौँ : न्याय सुनिश्चित गरौँ, पीडितको संरक्षण गरौँ र दण्डहीनताको अन्त्य गरौँ’ भन्ने अन्तर्राष्ट्रिय नारासहित अभियान सञ्चालन गर्न आह्वान गरेको छ ।
नेपालमा भने ‘लैङ्गिक हिंसा अन्त्यका लागि ऐक्यबद्धता : पीडितको संरक्षण, दण्डहीनताको अन्त्य र न्यायको सुनिश्चितता’ भन्ने राष्ट्रिय नारासहित अभियान सञ्चालन हुँदैछ ।
प्रधानमन्त्री शाहले अभियानअन्तर्गत सञ्चालन हुने विविध कार्यक्रमले लैङ्गिक हिंसामुक्त, न्यायपूर्ण र समतामूलक समाज निर्माणमा योगदान पुर्याउने विश्वास व्यक्त गर्दै अभियानको सफलताको कामना गरेका छन् ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
मेरो एउटा कुरा छ
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
NPL
प्रतिक्रिया दिनुहोस्