महाशिवरात्रिका अवसरमा पशुपतिमा लिङ्ग पुराण सुरु

Ad
  • कालोपाटी सम्बाददाता

महाशिवरात्रिका अवसरमा पशुपति क्षेत्र विकास कोषले आजदेखि लिङ्ग पुराण महायज्ञ आयोजना गरेको छ ।

लिङ्ग पुराणको नेपाली अनुवादसहित प्रकाशन गरेको कोषले महाशिवरात्रिका अवसरमा पहिलोपटक अनुष्ठान सुरु गरेको हो । नेपाली अनुवादसहितको लिङ्ग पुराण महाशिवरात्रिकै अवसरमा जगन्नाथपुरीस्थित गोवद्र्धन मठका शङ्कराचार्य निश्चलानन्द सरस्वतीले यही फागुन ५ गते विमोचन गर्नुहुने कार्यक्रम छ । पशुपतिनाथ पश्चिम मूल ढोकाअघि रहेको शङ्कराचार्य मठमा पुराण वाचन सुरु भएको कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए  ।

विमोचनपछि पशुपतिनाथ मूल मन्दिरको पश्चिमढोका अघि स्थापना गरिएको कोषको बिक्री कक्षबाट पनि पुराणको पुस्तकको बिक्री गरिने जनाइएको छ । कोषले यसअघि शिव पुराण पनि नेपाली अनुवादसहित प्रकाशन गरिसकेको छ । कोषले प्रकाशन गरेका सबै पुस्तक पश्चिमढोका अघिको बिक्री कक्षमा पाइने संस्कृति महाशाखा प्रमुख गौरीशङ्कर पराजुलीले बताए  ।
लिङ्ग पुराण महाशिवरात्रिका अवसरमा फागुन ६ गतेसम्म सञ्चालन गरिने छ ।

यस वर्षको महाशिवरात्रि पर्व फागुन ६ गते परेको छ । कोषले महाशिवरात्रिको तयारी गरिरहेको छ । यस वर्षको महाशिवरात्रिमा विशिष्ट अतिथिका रूपमा जगन्नाथपुरीस्थित गोवद्र्धन मठका शङ्कराचार्य निश्चलानन्द सरस्वती फागुन ४ गते राजधानी आउनुहुने कार्यक्रम रहेको छ । महाशिवरात्रिका अवसरमा माघ २९ गते आइतबारदेखि नै कोषले पशुपति क्षेत्रको विशेष सफाइ अभियान सुरु गरेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्