१ करोड लागतमा निर्मित धर्मशाला सञ्चालन, धर्मशाला बनाएर कीर्ति राख्ने पुरानो मैथिल परम्परा

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । बर्दिबास-१४ स्थित रामजानकी मन्दिर परिसरमा निर्मित नीर-रत्न धर्मशाला सञ्चालनमा आएको छ । स्थानीय समाजसेवी नीरबहादुर हमाल र उनकी दिवङ्गत पत्नी रत्न हमालको स्मृतिमा उक्त धर्मशाला सर्वसाधारणको प्रयोगका लागि सञ्चालनमा आएको हो ।

सामुदायिक हितका लागि धर्मशाला बनाएर कीर्ति राख्ने पुरानो मैथिल परम्परालाई महोत्तरीका एक परिवारले अनुशरण गरेका छन् । आफ्ना दिवङ्गत पितामाताको स्मृतिमा त्यहाँका एक हमाल परिवारले १ करोड रुपैयाँभन्दा बढी लागतको धर्मशाला बनाएर समुदायलाई हस्तान्तरण गरेका हुन् । स्व हमाल दम्पतीका भाई मीनबहादुर हमाल र अर्थबहादुर हमाल एवं छोरा डा.कृष्णबहादुर हमाल, चिरञ्जीवी हमाल, ओमकार हमाल, ईश्वर हमाल, र दीपक हमाल तथा छोरी दुर्गा हमालसहितले संयुक्तरुपमा यो धर्मशाला निर्माण गरेका हुन् ।

त्यस्तै, विसं २०११ मा स्व नीरबहादुर हमालले दान गरेको ११ कट्ठा १५ धुर क्षेत्रफलको जग्गाभित्र निर्मित मन्दिर परिसरमै अहिले धर्मशाला निर्माण भएको हो । बर्दिबास-२ स्थित जनता माध्यमिक विद्यालयको स्थापना र सञ्चालन एवं बर्दिबास-१४ मा बजार बसाउनुभएका स्व हमालले यी संस्था सञ्चालनका लागि १० बिघाभन्दा बढी जग्गा दान गरेका थिए । स्व पिता माताको स्मृतिमा धर्मशाला निर्माण गरी समुदायलाई हस्तान्तरण गरिदा समाज उत्प्रेरक स्व बुबा-आमाको सही तरिकाले सम्झना गरिएको अनुभूति आफूहरूलाई भएको नेपाली कांग्रेसका महासमिति सदस्यसमेत रहेका चिरञ्जीवीले बताएका छन् ।

धर्मशाला निर्माणमा १ करोड ५ लाख रुपैयाँ खर्च भएको उनले जानकारी दिएका छन् । दुईतले पक्की धर्मशाला भवनको भुईं तलामा उत्तरतर्फ फराकिलो पटाङ्गिनीसहित खानेपानी धारा र शौचालय सुविधासहितका तीनवटा कोठा छन् । भुईंतलाकै मुख्य सडकतिर पर्ने दक्षिणपट्टी व्यापारिक प्रयोजनका तीन कोठा छन् । यसैगरी माथिल्लो तलामा २ सय मानिस अटाउने क्षमताको सभा भवनसहित आन्तरिक शौचालय सुविधासहितको एक फराकिलो अतिथिकक्ष रहेको छ ।

यस्तै, धर्मशाला व्यवस्थापनमा व्यापारिक प्रयोजनले बनाएका सटरको आम्दानी विवाह, व्रतबन्ध, धार्मिक र सांस्कृतिक समारोहका लागि उपलब्ध गराइँदा लिइने न्यूनतम शुल्कले सहज हुने विश्वास गरेको छ । परिसरभित्रै विवाहमण्डप पनि निर्मित छ । बर्दिबास हटिया नजिकै निर्मित उक्त धर्मशालाले अब वैवाहिक, अन्य धार्मिक र सांस्कृतिक समारोहका पाहुनाको बसोबास व्यवस्थपनमा निकै सहज हुने बर्दिबास-१४ स्थित बर्दिबास जनता बहुमुखी क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष भरत हमालले जानकारी दिएका छन् ।

मधेसको प्राचीन मिथिलाक्षेत्रमा केही दशकअघिसम्म कीर्तिकै लागि विद्यालय, धर्मशाला, इनार, पोखरी निर्माण गर्ने र चौतारी बनाउने परम्परा थियो । मिथिलामा थुप्रै दानवीरले निर्माण गरेका यस्ता भवन अझै खडा छन् । पछिल्लो कालमा हराउँदै गएको उक्त उदात्त परम्परालाई स्व हमाल दम्पतीका सन्तानले अनुशरण गरेर निकै राम्रो काम गरेको बर्दिबासका पाका मैथिलले जनाएका छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्