आइतबार नेप्से १११.२० अंकले बढ्यो, ४८ करोडको कारोबार

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा ५ प्रतिशतको वृद्धि भएसँगै (आज) आइतबारको कारोबार बन्द भएको छ । आजको कारोबारपछि नेप्से परिसूचक १११.२० अङ्कले बढेर १९६३.९८ को विन्दुमा कायम भएको नेप्सेले जनाएको छ ।

आइतबार दिउँसो ११ बजेर ५ मिनेटमा नेप्से परिसूचकमा ४ प्रतिशतको वृद्धि अर्थात् पहिलो सकारात्मक सर्किट लागेसँगै २० मिनेटका लागि कारोबार रोकिएको थियो । ११ बजेर २५ मिनेटमा कारोबार खुलेको २ मिनेटमै दोस्रोपटक सकारात्मक सर्किट लागेको थियो । परिसूचकमा ५ प्रतिशतको वृद्धि देखिएपछि ४० मिनेटका लागि कारोबार रोकिएको थियो । त्यस्तै, नेप्से परिसूचकमा १२ बजेर ७ मिनेटमा छ प्रतिशतको वृद्धि अर्थात् तेस्रोपटक सकारात्मक सर्किट लागेपछि दिनभरिको कारोबार स्थगित गरेको हो ।

यस्तै, हाल कार्यान्वयनमा रहेको ‘सर्किट ब्रेक’ सम्बन्धी व्यवस्थाअनुसार कारोबार सुरु भएको पहिलो घण्टामा नेप्से परिसूचक ४ प्रतिशतले घटे वा बढेमा २० मिनेटसम्म कारोबार बन्द गर्ने व्यवस्था छ । त्यस्तै, दोस्रो घण्टामा ५ प्रतिशतले घटे वा बढेमा ४० मिनेट र तेस्रो घन्टा वा त्यसपछिको समयमा ६ प्रतिशतले घटे वा बढेमा बाँकी पूरै दिनको कारोबार स्थगन हुने व्यवस्था छ । सो व्यवस्थाअनुसार आजको कारोबारमा ६ प्रतिशतको वृद्धि देखिएसँगै दिनभरिका लागि कारोबार स्थगन गरेको नेप्सेका सूचना अधिकारी मुराहरि पराजुलीले जानकारी दिएका छन् ।

आज २ सय ४४ कम्पनीको १३ लाख ६७ हजार ६ सय १५ कित्ता सेयर ७ हजार १४ पटक खरिदबिक्री हुँदा ४८ करोड २४ लाख ८२ हजार २ सय ३९ रुपैयाँ बराबरको कारोबार भएको छ । रिलायन्स फाइनान्स लिमिटेड, जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड, राप्ती हाइड्रो एन्ड जेनरल कन्स्ट्रक्सन कम्पनी लिमिटेड, शुभम् पावर लिमिटेड र कालिञ्चोक दर्शन लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

नेपाल राष्ट्र बैंकले गत शुक्रबार मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत कर्जा बिस्तार र ब्याजदर घटाउने विषयमा केहि लचिलो नीति लिएको थियो । लचिलो मौद्रिकको सकारात्मक प्रभाव बजारमा देखिएको छ । मुख्यगरी पुँजीबजारसँग सम्बन्धित विषयमा राष्ट्र बैंकले सेयर धितो कर्जाको जोखिम भार घटाई १ सय २५ प्रतिशत कायम गरेको थियो ।

यस्तै, मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा मार्फत राष्ट्र बैंकले बैंक दरलाई ७ दशमलब ५ प्रतिशतबाट घटाएर ७ प्रतिशतमा कायम गरेको थियो भने नीतिगत दरलाई ६ दशमलब ५ प्रतिशतबाट घटाएर ५ दशमलव ५ प्रतिशतमा कायम गरेको थियो । त्यसैगरी, निक्षेप सङ्कलन बोलकबोल दरलाई साढे ४ प्रतिशतबाट घटाएर ३ प्रतिशत कायम गरेको थियो ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्