काठमाडौँ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका र करुणा फाउण्डेसन नेपालबीच सम्झौता भएको छ । अपाङ्गता रोकथाम तथा पुन:स्थापना कार्यक्रम सञ्चालनका लागि दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका र करुणा फाउण्डेसन नेपालबीच सम्झौता भएको हो ।
नगरप्रमुख तीर्थराज भट्टराई र फाउण्डेसनका व्यवस्थापक सन्तोष घिमिरेले सम्झौतापत्रमा शनिबार हस्ताक्षर गरेका हुन् । नगरपालिकाको पूर्ण स्वामित्वमा सञ्चालन हुने कार्यक्रम आगामी माघ १ गतेबाट लागू भएर २०८३ साल पुस मसान्तसम्म सञ्चालन हुने सम्झौतामा उल्लेख छ । कार्यक्रमले अपाङ्गता भएका व्यक्तिको सम्मानपूर्वक बाँच्न पाउने अधिकार प्राप्तिका निम्ति काम गर्ने छ ।
यसैबीच कार्यक्रमका अवसरमा नगरपालिकाको ५० प्रतिशत र फाउण्डेसनको ५० प्रतिशत लगानीबाट खरिद गरिएको वाद्यवादनका सामग्री स्थानीय साइनो कला केन्द्रलाई हस्तान्तरण गरिएको छ । पछि दुई थान गितार उपलब्ध गराउनेगरी तीन थान गितार, एउटा हार्मोनियम, दुईवटा मादल, एउटा तबला, एक दर्जन बाँसुरी, सारङ्गी र किबोर्ड एक-एकवटा हस्तान्तरण गरिएको हो ।
फाउण्डेसनले यसअघि हलेसी तुवाचुङ नगरपालिका र बराहापोखरी गाउँपालिकामा यही कार्यक्रमको सम्झौता गरिसकेका छन् । जिल्लाका तीनवटै स्थानीय तहमा उक्त कार्यक्रम तीन-तीन वर्ष सञ्चालन हुने जनाइएको छ । दिक्तेल रुपाकोट मझुवागढीमा १ हजार १ सय ८३ अपाङ्गता भएका व्यक्ति छन् । दश स्थानीय तह रहेको जिल्लामा चार हजार ९ सय २२ जना शारीरिकरूपमा अपाङ्गता भएका व्यक्ति रहेको जिल्ला अपाङ्ग सेवा सङ्घ खोटाङले जनाएको छ ।