काठमाडौँ । भीमदत्त नगर प्रवक्ता खड्का मृत फेला परेका छन् । कञ्चनपुरको भीमदत्त नगरपालिका-६ का वडाध्यक्ष एवं नगरप्रवक्ता महेन्द्र खड्का सडकमा मृत अवस्थामा फेला परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक कमल थापाले भीमदत्त -६ ऐठपुरस्थित सडकमा मोटरसाइकल दुर्घटनामा परी बुधबार राति वडाध्यक्ष खड्काको मृत्यु भएको हुन सक्ने जानकारी दिएका छन् । प्रहरी उपरीक्षक थापाले भने, ‘बाटोमा राखिएका पाइपमा ठोक्किएर मोटरसाइकल दुर्घटना भएको देखिन्छ । रातिको समयमा घटना भएको देखियो ।’
उनले भीमदत्त नगरप्रमुख पदम बोगटीसहित जनप्रतिनिधिलाई घटनाबारे जानकारी गराएको बताएका छन् । ‘प्राम्भिक हेर्दा मोटरसाइकल दुर्घटनामा परी वडाध्यक्ष खड्काको मृत्यु भएको देखिन्छ’, प्रहरी उपरीक्षक थापाले भने, ‘घटनाको विस्तृत अनुसन्धान प्रहरीले थालिसकेको छ ।’ बुधबार दिउँसो भीमदत्त नगरपालिकामा आयोजित सार्वजनिक सुनुवाइमा वडाध्यक्ष खड्का सहभागी रहेका थिए ।