काठमाडौँ । नारायणगढ-मुग्लिन सडकखण्डमा आइतबार र सोमबार दिउँसो पनि यातायात सेवा खुल्ला गरिने भएको छ । देवघाटधाममा लाग्ने माघेसङ्क्रान्ति मेलालाई मध्यनजर गर्दै दिउँसो यातायात सेवा यथावत सञ्चालन गर्ने निर्णय भएको हो ।
यही पुस ७ गतेदेखि तीन साताका लागि दिउँसो चार घण्टा सडक बन्द गरेर काम हुँदै आएको थियो । यस सडकखण्डको तुइन खोलामा पुल बनाउन ढिस्को भत्काउने काम नसकिएकाले दिउँसोको समयमा सडक बन्द गरेर काम गरिएको हो । जिल्लाको सुरक्षा समितिको बैठकले थप तीन साता सडक बन्द गरेर काम गर्न अनुमति दिएको थियो ।
यस्तै, गत वर्ष कडा चट्टान फोर्न नसकिएपछि विस्फोट गर्न काम रोकिएको थियो । यस वर्ष ३८ टनको ब्रेकर प्रयोग गरेर भत्काउन सुरु गरिएकाले कामले गति लिएको र अझै ढिस्को फोर्न तीन साता लाग्ने आयोजनाको अनुमान छ । सोहीअनुसार जिल्ला सुरक्षा समितिले तीन सातासम्म म्याद थप गरेको थियो । आवश्यक परेको ठाउँमा चट्टानलाई चिरा पार्ने रक स्पिलटर र हाइड्रोलिक ज्याक हेम्मर प्रयोग गरेर काम गरिएको छ ।
गत वर्ष २२ टनको ब्रेकर मात्र प्रयोग गरिएकाले काम गर्न असहज भएको थियो । सो सडकका १९ पुलमध्ये चार पुल चार वर्षअघि निर्माण गरिएको हो । बाँकी १५ पुलका लागि एकैसाथ ठेक्का लगाइएकामा विसं २०७६ चैत १० गतेदेखि सो पुलको निर्माण थालिएको हो ।