व्यवसाय फस्टाउनका लागि बजारीकरण आवश्यक छ: प्रविधिमन्त्री रेखा शर्मा

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले कुनै पनि व्यवसाय फस्टाउनका लागि बजारीकरण आवश्यक रहेकामा जोड दिएकी छिन् । रेडियो र टेलिभिजनको व्यवसाय प्रवर्द्धनमा संलग्न जनशक्तिका लागि विज्ञापन बोर्डले सोमबार आयोजना गरेको क्षमता विकास कार्यक्रममा उनले यस्तो जोड दिएकी हुन् ।

मन्त्री शर्माले आजको युग बजारीकरणको भएको बताउँदै जुनसुकै व्यवसाय बजारीकरणबिना फस्टाउन नसक्ने उल्लेख गरेकी छिन् । उनले भनिन्, ‘व्यवसाय फस्टाउनका लागि बढी व्यावसायिक र सीपयुक्त बनाउन आवश्यक छ । यो कार्यक्रमले बजारीकरणमा काम गर्नेलाई थप प्रोत्साहन गर्ने विश्वास छ ।’ रेडियो र टेलिभिजन तुलनात्मक बढी प्रभावकारी सञ्चारमाध्यम भएको उल्लेख गर्दै उनले यसबाट प्रसारित हुने सामग्रीको विषयका बारेमा ध्यान पुर्याउन आग्रह गरेकी छिन् ।

यस्तै, ‘कहिलेकाहीँ विज्ञापन प्रसारण गर्दा पनि संविधान र प्रचलित कानुनको प्रावधानविपरीत हुने गरेको पाइएकाले त्यसमा पनि ध्यान पुर्‍याउनुपर्छ । बहुविवाह र छुवाछुतविरुद्ध सकारात्मक सन्देश प्रवाह हुने उद्देश्यले प्रसारण गरेका सामग्रीले पनि कसैको भावनामा चोट पुर्‍याउन हुँदैन’, मन्त्री शर्माले भनिन् । विज्ञापनमा हुने चुहावट नियन्त्रणका लागि विज्ञापन नियमावली संशोधन गरिएको जानकारी गराउँदै मन्त्री शर्माले अब यस क्षेत्रमा विज्ञापन एजेन्सीले १५ प्रतिशत मात्र शुल्क लिन पाउने व्यवस्था गरिएको जानकारी दिएकी छिन् ।

उनले आथिक मन्दीको प्रभाव विज्ञापन क्षेत्रमा पनि परेकाले विज्ञापनबापत कम रकम पाउँदा सञ्चारमाध्यमले श्रमजीवी पत्रकार र कामदारको पारिश्रमिक दिन नसकेको गुनासो सुनिएको सन्दर्भमा यसले केही हदसम्म समस्या समाधान गर्ने विश्वास व्यक्त गरेकी छिन् । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका लागि ठूलो सङ्घर्ष गरेका मिडियाको प्रवर्द्धन गर्न सरकारले आवश्यक पहल गरिरहेको मन्त्री शर्माको भनाइ छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्