काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सवारी चालक अनुमतिपत्र छाप्ने अधिकार प्रदेश सरकारलाई दिने तयारी भइरहेको बताएका छन् । पार्टीको केन्द्रीय स्कुल विभागद्वारा बुधबार आयोजित प्रशिक्षण कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
मन्त्री ज्वालाले जनतालाई सहजरूपमा सेवा उपलब्ध गराउन अनुमतिपत्र छाप्ने अधिकार प्रदेशलाई दिन लागिएको जानकारी दिएका छन् । सवारी चालक अनुमतिपत्रका लागि रकम भुक्तानी र आवेदन अनलाइनमार्फत भर्न सकिने बताएका छन् । ‘केही दिनअघि हामीले प्रदेशका सम्बन्धित मन्त्री र सचिवसँग बसेर यसका बारेमा छलफल गरेका छौँ’, मन्त्री ज्वालाले भने, ‘अब सवारी चालक अनुमतिपत्रलाई प्रदेशस्तरीय बनाउनुपर्छ, सङ्घमा राखेर हुँदैन भन्ने निष्कर्ष निकालेका थियौँ ।’
यस्तै, यसलाई अझ प्रभावकारी र भरपर्दो बनाउने गृहकार्यमा मन्त्रालय जुटिरहेको बताउँदै उनले भने, ‘हाम्रा केही सीमा छन् । ती सीमालाई सम्मान गर्दै हामीले केही राम्रा कार्यहरू गरेका छौँ । रकम भुक्तानी र आवेदन अनलाइनमार्फत भर्न सकिने व्यवस्था गरेका छौँ । सवारी लाइसेन्समा भएको घोटाला बाहिर ल्याएका छौँ ।’
मन्त्री ज्वालाले करिब २९ हजार नक्कली लाइसेन्स खारेज भइसकेको जानकारी दिँदै छापिएका करिब १ लाख नक्कली लाइसेन्स रद्द गर्ने प्रक्रिया अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् । नक्कली लाइसेन्सको घोटालामा केहीको संलग्नता देखिएकाका थप अनुसन्धान गरिने बताएका छन् ।