काठमाडौँ । पछिल्लो समय सहकारी संस्थाका कारण दाङका महिला स्वरोजगार बन्दै गएका छन् । जिल्लामा खुलेका सहकारी संस्था महिलाका लागि आम्दानीका स्रोत बन्दै गएका छन् । घरको काम र घाँसपातमा व्यस्त हुने प्राय:महिला गाउँगाउँमा सहकारी खुलेपछि अहिले रकम जम्मा गर्न थालेका छन् ।
सहकारी संस्थाका कारण जिल्लाका अधिकांश महिला बेफुर्सदिला हुन थालेका छन् । महिलाको लगनशीलता तथा मेहनतका कारण सहकारी क्रमिकरूपमा फलदायी तथा नाफामुखी बन्दै गएका हुन् । महिलाले सञ्चालन गरेका सहकारीका कारण धेरै स्थानीय महिलाले गाउँमै रोजगारीसमेत पाएको घोराही उपमहानगरपालिका-१८ फुर्सेखालीमा रहेको एकता महिला बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष रेबा अधिकारीले बताएका छन् । यस संस्था स्थापना भएदेखि नै महिलाहरूको नेतृत्वमा सञ्चालन हुँदै आएको छ । महिलाद्वारा खोलिएका सहकारी संस्थामार्फत महिला सशक्तीकरणका साथै आर्थिक स्थितिमा समेत विगतको तुलनामा निकै सुधार आएको उनको भनाइ छ ।
संस्थामा आवद्ध महिलाहरूमा थोरै भए पनि बचत गर्नुपर्छ भन्ने बानीको विकास भएको उनले बताएका छन् । ‘संस्थामा बचत गरेको रकमले आफूलाई समस्या परेको समयमा निकालेर समस्या समाधान गर्न सकिन्छ’, सहकारी संस्थाका अध्यक्ष अधिकारीले भने । विसं २०५५मा स्थापना भएको यस सहकारी संस्थाले विशेष गरेर महिला स्वरोजगारको पाटोलाई बलियो बनाउँदै लगेको छ । संस्थामा हालसम्म ५ सय २७ सदस्य आबद्ध रहेका छन् । संस्थाले अहिलेसम्म रु ५ करोडबराबरको कारोबार गर्न सफल भएको छ ।
संस्थाले मुख्य बचत र ऋण कारोबारसँगै सदस्यलाई विभिन्न आयआर्जनमासमेत जोड्दै लगेको छ । संस्थामा आवद्ध सदस्य घोराही-१८ हात्तीखर्ककी रीता सार्की विगत लामो समयदेखि बेसारखेती गर्दै आएका छन् । सदस्यले उत्पादन गरेको बेसारलाई सहकारीले किलोको रु ३ सयमा बिक्री वितरण गर्दै आएको छ । रीताजस्तै त्यहाँका धेरै महिलाले बेसारखेती गर्दै आएका छन् । घरमा खाली बस्नुभन्दा केही गर्नुपर्छ भन्ने सोचका साथ बेसारखेती गर्दै आएको उनको भनाइ छ । सहकारी संस्थामा आवद्ध सदस्यले उत्पादन गरेको सबै बेसारलाई संस्थाले चाना काटेर, सुकाएर, पिसाएर बेच्ने आएको छ ।
संंस्थाले स्थानीयस्तरमा सञ्चालन हुने मेला महोत्सवमा पनि बेसार बेच्ने गरेको छ । हात्तीखर्कमा बेसारखेतीका लागि राम्रो सम्भावना रहेको छ । संस्थामा आवद्ध सदस्यले पर्याप्त मात्रामा बेसार उत्पादन गरे पनि बजारीकरणको केही समस्या रहेको सहकारी संस्थाकी उपाध्यक्ष सुनकुमारी विष्टको भनाइ छ । सबै सदस्यले बाहिरको बेसार नकिनेर संस्थाबाटै लैजाने गरेको उनले बताएका छन् । वार्षिकरूपमा रु १ लाख बढीको संस्थाले बेसार बिक्री गरेर आम्दानी गर्दै आएको उनको भनाइ छ । उनले पनि बेसारखेती, बाख्रापालन, तरकारीलगायतबाट मासिक रु २५ हजार आम्दानी गर्दै आएका छन् । सदस्यले मासिक रु ५ सयदेखि २ हजारसम्म बचत गर्ने गरेका छन् । संस्थाबाट अन्य महिलाले पनि ऋण लगेर विभिन्न तरकारीखेती, किराना पसल, अन्य उद्यमलगायतका व्यवसाय गर्दै आएका छन् ।
आगामी दिनमा स्थानीय तहमार्फत केही सहयोग पाएमा संस्थामा आवद्ध सदस्यलाई विभिन्न सीपमूलक कार्यक्रममा जोड्न सकिने संस्थाका अध्यक्ष अधिकारीले जानकारी दिएका छन् । संस्थाले विभिन्न समयमा सीपमूलक तालिमसँगै सहकारी सचेतना जागरण तालिम प्रदान गर्दै आएको छ । साथै, संस्थाले कुनै सदस्यको मृत्यु भएमा रु १० हजार र सुत्केरी भएको बेला रु २ हजार सहयोग प्रदान गर्दै आएको छ ।