काठमाडौँ । सङ्घीय सरकारले अनुदानमा बाँके नरैनापुरका किसानका लागि पठाइएको मल बाटोबाट गायब भएको पाइएको छ । बाँकेको नरैनापुर-५ मटैयास्थित राप्ती कृषि सहकारी संस्था लिमिटेडले पाएको १ सय ३० बोरा मल बाटोबाटै गायब भएको पाइएको हो ।
नरैनापुरका किसानका लागि कृषि सामग्री कम्पनीबाट यही माघ ९ गते बुझिलिएको २ सय बोरा (प्रतिबोरा ५० किलो) सङ्घीय सरकारबाट अनुदान प्राप्त भएको थियो । उक्त अनुदानित युरिया मलमध्ये सहकारीको गोदाममा ६४ बोरा मात्रै फेला परेको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिएका छन् । उनका अनुसार छ बोरा मल स्थानीय किसानलाई बिक्री गरेको भर्पाई पेस भएको छ भने बाँकी हुनुपर्ने १ सय ३० बोरा युरिया मल बाटोबाटै गायब भएको छ । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी लालबहादुर गुरुङको नेतृत्वमा वाणिज्य, कृषि ज्ञानकेन्द्र, कृषि सामग्री कम्पनीका प्रमुखसमेतको सहभागितामा बिहीबार गएको अनुगमन टोलीले नरैनापुरस्थित कृषि सहकारी ‘राप्ती कृषि सहकारी संस्था लिमिटेड’ नरैनापुर-५को आकस्मिक अनुगमन गरेको थियो ।
सो सहकारीले प्रचलित कानुनविपरीतको कार्य गरेको पाइएकाले उपभोक्ताहित संरक्षण ऐनबमोजिम रु २ लाख जरिवाना गरिएको प्रजिअ पोखरेलले बताएका छन् । अहिले गोदाममा भएको ६४ बोरा अनुदानित मल सिल गरिएको छ भने गायब भएको १ सय ३० बोरा मलबारेमा सात दिनभित्र स्पष्टीकरणसहित उपस्थित हुन निर्देशन दिइएको छ । अनुदानको मल तोकिएको सहकारीमार्फत तोकिएका क्षेत्रका किसानले पाए नपाएको सुनिश्चित गर्न जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी लालबहादुर गुरुङको नेतृत्व टोलीले आकस्मिक अनुगमन गरेको हो ।