काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्व शान्तिका लागि द्वन्द्वरत पक्षबीच संवाद हुनुपर्नेमा जोड दिएका छन् । संयुक्त राष्ट्र सङ्घको नि:शस्त्रीकरण मामिलासम्बन्धी उच्चस्तरीय प्रतिनिधिमण्डलसँगको भेटका क्रममा उनले यस्तो जोड दिएका हुन् ।
प्रधानमन्त्रीले नेपाल सदैव विश्व शान्तिको पक्षमा रहेको बताएका छन् । नि:शस्त्रीककरण मामिलासम्बन्धी संयुक्त राष्ट्र सङ्घको निकाय युएनओडिएका तर्फबाट उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्नुभएकी मिस इजुमी नाकामित्सुसहितको टोलीसँगको छलफलमा उनले नेपालको शान्ति प्रक्रियाको उदाहरणीय रहेको जनाएका छन् । उनले विश्व शान्तिका लागि संवाद मात्रै एकमात्र विकल्प भएकामा जोड दिएका छन् ।
‘नेपालको ऐतिहासिक शान्ति प्रक्रिया विश्वका मुलुकका लागि उदाहरण बनेको छ’, उनले भने, ‘अहिले विश्वका कैयन् क्षेत्र अत्यन्तै संवेदनशील अवस्थामा छन् । रुस-युक्रेन युद्ध, इजरायल-हमास द्वन्द्वलगायत घटनाले विश्व शान्तिमा चुनौती थपेका छन् । तर, हामी वार्ता र संवादका माध्यमबाट समाधान खोज्नुपर्नेमा जोड दिन चाहन्छौँ ।’
प्रधानमन्त्री दाहालले बुद्ध जन्मेको भूमि र शान्तिप्रिय देश नेपालले विश्वमा शान्ति स्थापनाका लागि विभिन्न अन्तर्राष्ट्रिय मञ्चमा उल्लेख्य भूमिका खेल्दै आएकोसमेत स्मरण गराएका छन् । उनले संयुक्त राष्ट्र सङ्घको महासभामा अति कम विकसित देशहरुको नेतृत्वकर्ताको हैसियतले खेलेको भूमिकाबारे समेत चर्चा गर्दै शान्ति स्थापनाका लागि संयुक्त राष्ट्र सङ्घका प्रयासमा सदैव साथ दिने र नेपालले विश्व शान्तिका लागि नेतृत्वदायी भूमिका खेल्ने बताएका छन् ।
‘विश्व शान्ति तथा नि:शस्त्रीकरणका पक्षमा संयुक्त राष्ट्र सङ्घले खेलेको भूमिका प्रशंसनीय छ’, उनले भने, ‘हामी संयुक्त राष्ट्र सङ्घका हरेक कदममा साथ छौँ र भविष्यमा पनि साथ रहने प्रतिबद्धता व्यक्त गर्दछौँ ।’