काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले वर्तमान सरकारले जनपक्षीय काम गर्ने प्रयास गरिरहेको जनाउँदै यो प्रयासलाई अझ बढाउनुपर्नेमा जोड दिएका छन् । पार्टीको केन्द्रीय परिषद्को दोस्रो बैठकको आइतबार उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।
अध्यक्ष नेपालले सरकारले भ्रष्टाचार नियन्त्रण तथा सुशासन कायमका लागि प्रयास गरिरहेको र यो प्रयासलाई अझै प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन् । उनले लोकतान्त्रिक गणतन्त्रको उपलब्धिलाई कमजोर तुल्याउने वा व्यवस्था परिवर्तन गर्ने कोसिस भइरहेकामा चिन्ता व्यक्त गर्दै वर्तमान व्यवस्थाका पक्षधर सजग हुनुपर्ने जनाएका छन् । ‘मुलुकको वर्तमान अवस्थामा जनताको निराशा र आक्रोशलाई उपयोग गर्दै प्रतिगमनकारी विद्यमान व्यवस्था परिवर्तनको नाममा विभिन्न गतिविधि गरेर राजनीतिक अस्थिरता पैदा गराउने र सामाजिक सद्भाव खलबल्याउने अवस्थाप्रति सरकार र दलहरु सजग हुनुपर्छ’, अध्यक्ष नेपालले भने ।
कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा दुई दिनसम्म सञ्चालन हुने उक्त बैठकमा अध्यक्ष नेपालले मुलुकको राष्ट्रिय एकता, स्वाधिनता र स्वाभिमानलाई बलियो बनाउनुपर्नेमा जोड दिएका छन् । उनले समाजमा विद्यमान वर्गीय शोषणको अन्त गरी जनताको आर्थिक रुपान्तरण गर्न पार्टीले अवलम्बन गरेका वैचारिक दृष्टिकोण तथा आदर्शलाई स्थापित गर्न आवश्यक रहेको बताएका छन् । उनले विश्व राजनीतिको चर्चा गर्दै उनले अन्तर्राष्ट्रिय मुद्रास्फितिले विश्व सामाजिक परिवेशमा हुनसक्ने प्रभावका साथै त्यसले मुलुकको अर्थतन्त्रमा पर्ने नकारात्मक असरबारे धारणा राखेका छन् ।
नेपालको कम्युनिस्ट आन्दोलनलाई बलियो बनाउन समाजवादी मोर्चा गठन गरिएको उल्लेख गर्दै अध्यक्ष नेपालले समाजिक अन्तर्विरोधको न्यूनीकरण गर्न वर्गीय विभेद्को अन्त्य गर्नुपर्ने बताएका छन् । उनले तीन तहको सरकारमा पार्टीको सहभागिता रहेको जनाउँदै जनताको सेवालाई केन्द्रमा राखेर कार्य गर्न पार्टीका जनप्रतिनिधिलाई निर्देशन दिएका छन् । विद्यमान समाजवादी मोर्चालाई कायमै राख्नुपर्ने भन्दै उनले हालैको राष्ट्रियसभा निर्वाचनको परिणामका आधारमा वर्तमान सत्ता गठबन्धन विभाजित हुन नहुने पनि जनाएका छन् ।