काठमाडौँ । काभ्रेपलाञ्चोकको पाँचखाल नगरमा सञ्चालित बृहत पाँचखाल-सुनकोशी खानेपानी आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । आयोजनाका अनुसार हालसम्म ९३.३ प्रतिशत काम सम्पन्न भएको हो ।
आयोजनाका व्यवस्थापक इन्द्रमानसिं बस्नेतका अनुसार अबको चार महिनामा ६ हजार परिवारका करिब ३१ हजार नागरिकलाई घरघरमा स्वच्छ पिउने पानी उपलब्ध गराइने छ । आयोजना अन्तर्गत सुनकोशी नदी किनारमा छ वटा इनार, ४-४ लाख लिटर क्षमताको दुई पानी सङ्कलन ट्याङ्की, ३ लाख लिटरको ब्याकवास ओभरहेड ट्याङ्की, दश नयाँ वितरण ट्याङ्की, छ ब्रेक प्रेशर ट्याङ्की तथा १५ वटा पाले घर निर्माण भइसकेको छ । पाँच वटा जेनेरेटर राख्ने घर, ट्याङ्की वरपर पर्खाल तथा तारबार लगाउने, छ किलोमिटर पानीको मुख्य प्रशारण लाइन, ३७ किलोमिटर शाखा प्रशारण लाइनमध्ये ३५ किलोमिटर, २ सय ३० किलोमिटर वितरण पाइप लाइनमध्ये हालसम्म २ सय १३ किलोमिटर पाइप लाइनको काम पनि सम्पन्न भएको जनाइएको छ ।
यसैगरी कूल ६ हजार ३७ धारामध्ये हालसम्म ३ हजार २ सय धारा जडान, उपभोक्ता समिति भवन, पानी प्रशोधन केन्द्रका सम्पूर्णकार्य सम्पन्न भइसकेको उपभोक्ता समितिका अध्यक्ष कुमार लामिछानेले बताउनुभयो । उनका अनुसार हाल पानी छान्नका लागि बालुवा तथा गिट्टी हाल्ने काम भइरहेको छ । आयोजनाको २४ पानी तान्ने पम्प जडान, सातमध्ये पाँच बिजुलीको ट्रान्सफर्मर जडान, खोलादेखि पानी सङ्कलन केन्द्रसम्मको हाइटेन्सन लाइन विस्तारको काम सम्पन्न भइसकेको छ । सहरी खानेपानी तथा सरसफाइ (क्षेत्रगत) आयोजना, नगर विकास कोष, पाँचखाल नगरपालिका र खानेपानी उपभोक्ताबीच विसं २०७७ असार १५ गते साढे २ वर्ष अर्थात् २०७९ माघ महिनामा निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको आयोजनाको काम कोरोना सङ्क्रमण, मेलम्चीमा आएको बाढीका कारण आयोजनाको पूर्वाधारमा क्षति पुयाएका कारण लम्बिएको हो । यी कारणले पहिलो पटक दश महिना र दोस्रो पटक चार महिना गरी आयोजना सम्पन्न गर्न १४ महिनाको समय थप गरिएको थियो ।
अयोजनाका लागि सामग्री आयात गर्ने कठिनाइका कारण आयोजनाले हालैमात्र थप चार महिना अर्थात् असार मसान्तसम्मका लागि तेस्रो पटक म्याद थप गर्न निवेदन दिएको व्यवस्थापक बस्नेतको भनाइ छ । पाँचखाल नगरमा खानेपानी व्यवस्थापनका लागि भुम्लु गाउँपालिका-१० बिमिरेस्थित सुनकोशी नदी किनारमा इनार तथा लिफ्टिङ प्रविधिका भौतिक पूर्वाधार निर्माण गरिएको हो । रु १ अर्ब ४७ करोड ४३ लाख ६० हजारको लागतमा निर्माण सम्पन्न हुने आयोजनाबाट पाँचखाल नगरपालिका-२, ३, ४, ६, ७, ८, ९, १०, ११ र १२का ६ हजार ३७ घरधुरीका नागरिक लाभान्वित हनेछन् । जसमध्ये दैनिक प्रतिव्यक्ति १९।०५ लिटर पानी दैनिक उपभोग गर्न पाउने प्रक्षेपण गरिएको योजनामा उल्लेख छ ।
सो आयोजनाबाट सन् २०४० सम्म ४५ हजार नागरिक लाभान्वित हुनेसमेत प्रक्षेपण गरिएको छ । आयोजनाले प्रतिसेकेन्ड ८४ लिटरका दरले दैनिक २० घन्टा पानी लिफ्ट गरेर तान्ने र वितरण गर्ने योजना बनाएको छ । आयोजनाका लागि सम्झौताअनुसार दातृ निकाय, नेपाल सरकारको बजेटसँगै कूल योजनाको पाँच प्रतिशत अर्थात् रु ११ करोड ५ लाख ५ हजार ३ सय परिवारले प्रतिपरिवार रु १८ हजारका दरले रकम बुझाएका छन् । आयोजनाका लागि सम्झौता अनुसार २ सय १४ उपभोक्ताले सहकारीबाट संस्थाबाट ऋण लिई खानेपानीका लागि रकम बुझाएको उपभोक्ता समितिले जनाएको छ ।