काठमाडौँ । ईपीएस कोरिया शाखाले कोरियन भाषा परीक्षा सोमबारदेखि सुरु गरेको छ । राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान, भैँसेपाटीमा परीक्षा सुरु भएको सो शाखाले जनाएको हो ।
परीक्षा एक दिनमा पाँच वटा सिफ्टमा लिइनेछ । जसमा १ हजार जनाले परीक्षा दिन पाउने गरी व्यवस्था मिलाइएको इपीएस कोरिया शाखाका निर्देशक मैयाँ कडेलले जानकारी दिएका छन् । उनले भने, ‘पहिलो सिफ्टमा करिब ४७ हजार ५ सय १९ जनाले कोरियन भाषा परीक्षा दिने छन् । निबार पनि परीक्षा दिने गरी व्यवस्था मिलाएका छौँ । अन्य सिफ्ट त्यसपछि तय गरिने छ ।’
यस्तै, परीक्षार्थीहरु परीक्षाको एक दिन अघि सिफ्टअनुसार ईपीएस शाखा, कार्यालय ग्वार्कोमा बायो-मेट्रिक रजिस्ट्रेशन फिङर प्रिन्ट दर्ताका लागि उपस्थित हुनुपर्नेछ । परीक्षा सुरु हुनुअघि एक घण्टा अगाडि परीक्षा हलमा ओरेन्टेसन शुरु हुनेछ । साथै, निर्धारित समयमा उपस्थित नभए परीक्षामा सहभागी नगराइने निर्देशक कडेलको भनाइ छ ।
परीक्षामा मोबाइल फोन, स्मार्टवाचलगायतका कुनै पनि विद्युतीय सञ्चारका साधनहरु लैजान निषेध गरिएको छ । परीक्षामा चिट चोर्ने, नक्कल गरेकोलगायतका अवाञ्छित गतिविधि गरेको भेटिएमा परीक्षा रद्द गर्नुका साथै चार वर्षसम्मका लागि परीक्षामा समावेश हुन निषेध गरिने कार्यालयले जनाएको छ । सन् २०२३का लागि कोरियाको उत्पादनमूलक क्षेत्रतर्फ १ लाख ६३ हजार ६३५ जनाले आवेदन दिएका थिए ।