माघ मसान्तसम्मका आर्थिक सूचक सकारात्मक

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । माघ मसान्तसम्मका आर्थिक सूचक सकारात्मक देखिएका छन् । नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको सात महिनाको तथ्याङ्कमा आधारित ‘मुलुकको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ प्रतिवेदनअनुसार अर्थतन्त्रका अधिकांश सूचक सकारात्मक देखिएका हुन् ।

राष्ट्र बैंकका अनुसार फागुन मसान्तसम्ममा वार्षिक विन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ५.०१ प्रतिशत रहेको छ । सरकारले चालु आर्थिक वर्षका लागि मुद्रास्फीति ६.५ प्रतिशतको वाञ्छित सीमाभित्र राख्ने लक्ष्य राखेको छ । त्यस्तै, सात महिना अवधिमा आयात २.३, निर्यात ७.१ र कुल वस्तु व्यापार घाटा १.८ प्रतिशतले घटेको छ । यो अवधिमा विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा २१.६ प्रतिशतले र अमेरिकी डलरमा १९.१ प्रतिशतले बढेको छ । त्यसैगरी, शोधनान्तर स्थिति रु २ खर्ब ९७ अर्ब ७२ करोडले बचतमा रहेको छ ।

यस्तै, कूल विदेशी विनिमय सञ्चिति रु १८ खर्ब ४४ अर्ब ९४ करोड र अमेरिकी डलरमा १३ अर्ब ८९ करोड रहेको छ । सात महिना अवधिको सरकारको खर्च रु छ खर्ब ८६ अर्ब ७५ करोड र राजस्व परिचालन रु ५ खर्ब ६७ अर्ब ४० करोड रहेको छ । यो अवधिमा विस्तृत मुद्राप्रदाय ७ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ । वार्षिक विन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १३.७ प्रतिशतले बढेको छ ।

बैंक तथा वित्तीय संस्थाको निक्षेप सङ्कलन फागुन मसान्तसम्ममा ७ प्रतिशतले बढेको छ । यसैगरी निजी क्षेत्रमा प्रवाहित कर्जा ४.१ प्रतिशतले बढेको छ । वार्षिक विन्दुगत आधारमा निक्षेपको वृद्धिदर १४.४ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ४.७ प्रतिशत रहेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्