पर्यटकीय राजधानी पोखरामा पर्यटकको चहलपहल बढ्दो

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । पर्यटकीय राजधानी पोखरामा पर्यटकको चहलपहल बढिरहेको छ । चैत वैशाख दोस्रो पर्यटकीय याम भएकाले पनि पोखरामा आन्तरिम तथा बाह्य पर्यटकको चहलपहल बढेको पाइएको हो ।

होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीका अनुसार होटलमा पाहुनाको सङ्ख्या क्षमताको ५० प्रतिशतसम्म पुगेको छ । उनले भने, ‘शुक्रबार-शनिबार त होटलको अकुपेन्सी ६० प्रतिशतसम्म पनि पुग्छ, नयाँ वर्षका बेला ९० प्रतिशतभन्दा माथि पुग्ने हाम्रो अपेक्षा छ । पर्यटनका लागि ‘अफ सिजन’ मानिने गत पुस-माघमा पोखराका होटलको ‘अकुपेन्सी’ दस प्रतिशतभन्दा कममा सीमित थियो ।’ नयाँ वर्षलाई लक्षित गरेर लेकसाइडमा ‘१९औँ फेवा नव वर्ष महोत्सव’ आयोजना गरिएकाले पर्यटकको आवागमन थप बढ्ने अध्यक्ष सुवेदीको अपेक्षा छ ।

महोत्सव अवधिमा होटलमा ३० प्रतिशत छुटको व्यवस्था मिलाइएको उनी बताउँछन् । उनका अनुसार पोखरामा दैनिक ४० हजार पर्यटक राख्न सक्ने होटलको क्षमता छ । ‘अहिले दैनिक औसतमा २० हजार आन्तरिक तथा बाह्य पर्यटक पोखरामा छन्’, उनले भने, ‘यहाँ रहेका १२ सयभन्दा बढी होटल भरिभराउ हुन दैनिक ४० हजार पर्यटक पोखरा हुनुपर्छ ।’ यो याममा उल्लेख्य मात्रामा भारतीय पर्यटक घुमफिरका लागि पोखरा आउने गरेका छन् । पदयात्राका लागि विभिन्न गन्तव्यमा जाने तेस्रो मुलुकका पर्यटकले पनि केही समय पोखरामा बिताउने गरेको अध्यक्ष सुवेदीले जानकारी दिएका छन् । पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण सुवेदीले अहिले दैनिक डेढदेखि २ सयसम्म भारतीय निजी सवारीसाधन पोखरा भित्रिरहेको बताएका छन् ।

त्यस्तै, पोखरा आउने भारतीय पर्यटकमध्ये झण्डै ४० प्रतिशत मुक्तिनाथ दर्शनमा जाने गरेको अध्यक्ष श्रेष्ठको भनाइ छ । पोखरा भित्रने विदेशी पर्यटकको यकिन तथ्याङ्क भने कुनै पनि निकायसँग नरहेको उनी बताउँछन् । अध्यक्ष श्रेष्ठले व्यवस्थित प्रचारप्रसार र प्रवद्र्धन गर्न सके पोखरामा वार्षिक २० लाख भारतीय पर्यटक भित्राउन सकिने जनाएका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का प्रमुख डा रबिन कडरियाले पोखरा आउने विदेशी पर्यटकमध्ये करिब ४० प्रतिशत अन्नपूर्ण क्षेत्रको पदयात्रामा जाने गरेको बताए । उनका अनुसार गत अङ्ग्रेजी महिना मार्चमा ३० हजार एक सय ९९ विदेशी पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका थिए । जसमध्ये दक्षिण एसियाली मुलुकका १४ हजार ६ सय ६८ र अन्य देशका १५ हजार ५ सय ३१ जना थिए ।

अन्नपूर्ण क्षेत्र घुम्न जाने दक्षिण एसियाली मुलुकका पर्यटकमध्ये ९० प्रतिशत जति भारतीय हुने गरेको प्रमुख डा.कडरियाको भनाइ छ । दोस्रो मुख्य पर्यटकीय याम सुरु भएसँगै यस क्षेत्रमा पर्यटकको चहलपहल बढेको उनी बताउँछन् । ‘वैशाखको अन्त्यसम्ममा यस क्षेत्रमा भित्रने पर्यटकको संख्या अझै बढ्छ’, उनले भने, ‘असोज-कात्तिक र चैत-वैशाखको याम पदयात्रा पर्यटनका लागि उत्तम मानिन्छ, पदयात्रामा आन्तरिक पर्यटकको पनि आकर्षण बढ्दो छ ।’ अन्नपूर्ण चक्रीय पदमार्ग विश्वभरका पदयात्री पर्यटकको रोजाइमा पर्दै आएको उनको भनाइ छ । ‘एक्याप’का अनुसार सन् २०२३ मा१ सय ७३ देशका एक लाख ९१ हजार ५ सय ५८ पर्यटक अन्नपूर्ण क्षेत्रमा भित्रिएका थिए । जुन संख्या हालसम्मकै बढी हो ।

त्यसअघि सबैभन्दा बढी सन् २०१९ मा १ लाख ८१ हजार पर्यटक त्यहाँ पुगेका थिए । अन्नपूर्ण चक्रीय पदमार्गमा अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, घान्द्रुक, मनाङको तिलिचो ताल, थोरङ्ला भञ्ज्याङ, उपल्लो मुस्ताङ, मुक्तिनाथ क्षेत्र, म्याग्दीको घोडेपानीलगायतका गन्तव्य स्थल पर्छन् ।

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्