काठमाडौँ । प्यूठानमा मोटरसाइकलको ठक्करबाट तीन महिने शिशुको मृत्यु भएको छ । ऐरावती गाउँपालिका–४ कैरनबाट प्यूठान नगरपालिका–१ चेरनेटातर्फ आउँदै गरेको प्रदेश ०३–००७ प ३३०७ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा मल्लरानी गाउँपालिका–५ धुदी बस्ने सुजल भण्डारीको तीन महिनाको छोरा श्रीजलको ज्यान गएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी निरीक्षक केशव केसीका अनुसार शिशुलाई हजुरआमा नाता पर्ने ४५ वर्षीया नारायणी कुँवरले बोकेको र ठक्कर दिँदा साथमा बोकेको नाति खस्न गई घाइते भएका थिए । घाइते शिशुको जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
मोटरसाइकल चालक प्यूठान नगरपालिका–१ चेरनेटाका २३ वर्षीय विशाल केसीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।