Skip to content

रास्वपा–बालेन एकता अन्तिम चरणमा

कालोपाटी

५ घण्टा अगाडि

काठमाडौँ ।काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग एकता गर्न तयार भएका छन्। रास्वपा सभापति रवि लामिछानेसँग दुई चरणमा भएको एक्लाएक्लै छलफलपछि दुवै नेता एकै राजनीतिक मोर्चामा उभिन सहमत भएका हुन्।

स्रोतका अनुसार सहमतिको अन्तिम खाकामा प्राविधिक काम सक्ने तयारी भइरहेको छ। सहमतिअनुसार बालेनले रास्वपाको नीति, नेतृत्व संरचना, झण्डा र निर्वाचन चिन्ह ‘घण्टी’ स्वीकार गर्ने छन्। रास्वपाले आगामी निर्वाचनमा बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने सहमति भएको स्रोतको दाबी छ। रवि लामिछाने पार्टी सभापति नै रहनेछन्।

बालेनले रास्वपामा कुनै पनि साङ्गठनिक जिम्मेवारी दावी नगरेको पनि दुई पक्षको भनाई छ। तर,बालेनले जेनजी प्रतिनिधीलाई कसरी समेट्ने भनेर चासो व्यक्त्त गरिरहेका छन् ।जेन–जी प्रतिनिधित्व निर्वाचन प्रक्रियामार्फत सुनिश्चित गर्ने विषयमा रवि र बालेनबीच समान धारणा बनेको बताइएको छ।

हालको रास्वपाको पदाधिकारी टोलीमा कुनै परिवर्तन नहुने पनि सहमतिमा उल्लेख छ। ‘लगभग सबै विषय टुंगिएको छ। पार्टी, झण्डा र चुनाव चिन्ह रास्वपाकै हुने र पहिलो प्राथमिकतामा बालेन प्रधानमन्त्रीका उम्मेदवार बन्ने सहमति भएको छ । आज बेलुकासम्म सहमतिमा हस्ताक्षर हुने सम्भावना देखिएको छ ।

रास्वपातर्फबाट सहमतिको गृहकार्यमा उपसभापति डा। स्वर्णिम वाग्ले, सचिवालय सदस्य शिशिर खनाल र केन्द्रीय सदस्य असिम साह सहभागी छन् भने बालेनतर्फबाट उनका सल्लाहकार कुमार बेन सहभागी छन्। बिहीबार नै बालेन र रविबीच समझदारी बनेको भए पनि जेन–जी प्रतिनिधिहरूको सहभागिताबारे थप छलफल आवश्यक परेपछि हस्ताक्षर प्रक्रिया ढिला भएको स्रोतको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्