Skip to content

ई–सेवामार्फत घुस लिने यातायात कार्यालयका कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

कालोपाटी

४ घण्टा अगाडि

काठमाडौं । यातायात व्यवस्था कार्यालय भरतपुरमा कार्यरत कार्यालय सहयोगी इन्द्रजित गुरुङविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। ब्लुबुक नवीकरण, जाँचपास र परमिटलगायतका काम सहजीकरण गरिदिने बहानामा सेवाग्राहीसँग घुस लिएको पुष्टि भएपछि अख्तियारले सोमबार आरोपपत्र दायर गरेको हो।

अख्तियारका अनुसार गुरुङले घुस लिने कार्य लुकाउन चलाखीपूर्ण तरिका अपनाएका थिए। सरकारी कर्मचारी भएकाले सिधै रकम लिँदा समस्या पर्न सक्ने भन्दै उनले कार्यालय बाहिरको एक व्यक्तिको खाता प्रयोग गरेका थिए। सेवाग्राहीलाई उक्त व्यक्तिको ‘ई–सेवा’ खातामा रकम जम्मा गर्न लगाई त्यसपछि गुरुङले आफ्नो सानिमा बैंकको खातामा पटक–पटक रकम ट्रान्सफर गराएको अनुसन्धानबाट खुलेको छ।

अख्तियारको टोलीले गुरुङलाई गत जेठ ३० गते उनको कार्यकक्षबाटै १ लाख ८५ हजार रुपैयाँ नगदसहित नियन्त्रणमा लिएको थियो। थप अनुसन्धानका क्रममा उनले कुल १ लाख ६१ हजार ३४० रुपैयाँ घुस लिएको प्रमाणित भएको आयोगले जनाएको छ।

अख्तियारले सोही रकमलाई बिगो कायम गर्दै भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद तथा बिगो बराबरको जरिवाना सजाय माग गर्दै मुद्दा दायर गरेको आयोगका सहायक प्रवक्ता गणेश बहादुर अधिकारीले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्