Skip to content

तीन महिनामै ८५ गाई–गोरु नियन्त्रण, तस्करीविरुद्ध मकवानपुर प्रहरीको कडा कारबाही

कालोपाटी

७ घण्टा अगाडि

काठमाडौँ । मकवानपुर जिल्ला प्रहरी कार्यालयले गाई–गोरु तस्करीविरुद्ध सञ्चालन गरेको विशेष अभियानबाट उल्लेखनीय सफलता हात पारेको छ। पछिल्लो तीन महिनाको अवधिमा अवैध रूपमा ओसारपसार गरिँदै आएका ८५ वटा गाई–गोरु नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक (एसपी) सुवासचन्द्र बोहोराको कमाण्डमा, जेन्जी आन्दोलनपश्चात् सक्रियता बढाइएपछि गाई–गोरु तस्करी नियन्त्रणमा उल्लेखनीय सुधार देखिएको प्रहरीको भनाइ छ। यस अवधिमा प्रहरीले ६ वटा सवारी साधन र १० जना व्यक्तिलाई समेत नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार जिल्ला प्रहरी कार्यालय तथा मातहत कार्यालयबाट खटिएका टोलीहरूले विभिन्न स्थानमा सवारी साधन रोकी चेकजाँच गर्ने क्रममा अवैध रूपमा ल्याइएका गाई–गोरुसहित व्यक्ति र सवारी साधन नियन्त्रणमा लिएका हुन्।

प्रहरी अभिलेखअनुसार पहिलो कारबाही २०८२ साल असोज ३० गते गरिएको थियो। सो दिन ७ वटा गाई–गोरु, १ वटा सवारी साधन र ३ जना व्यक्ति नियन्त्रणमा परेका थिए। त्यसपछि कात्तिक १३ गते २५ वटा गाई–गोरु, १ वटा सवारी साधन र १ जना व्यक्ति नियन्त्रणमा लिइयो। कात्तिक १९ गते पुनः २२ वटा गाई–गोरु, १ वटा सवारी साधन र ३ जना व्यक्ति नियन्त्रणमा परे।

यसैगरी पुस १३ गते ५ वटा गाई–गोरु, १ वटा सवारी साधन र १ जना व्यक्ति, पुस १४ गते पुनः ५ वटा गाई–गोरु, १ वटा सवारी साधन र १ जना व्यक्ति तथा पुस १७ गते २१ वटा गाई–गोरु, १ वटा सवारी साधन र १ जना व्यक्ति नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार माथि उल्लेखित ६ वटा कारबाहीमध्ये पहिलो, दोस्रो र तेस्रो घटनामा तीनवटा मुद्दा दर्ता गरिएको छ। बाँकी घटनामा संलग्न व्यक्तिहरूलाई प्रचलित कानुनअनुसार जरिवाना स्वरूप कारबाही गरिएको छ। नियन्त्रणमा लिइएका गाई–गोरुलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी पशु सेवा कार्यालय, हेटौंडा पठाइएको छ।

यसअघि आर्थिक वर्ष २०८०/८१ मा एक वर्षको अवधिमा गाई–गोरु तस्करीसम्बन्धी जम्मा दुईवटा मात्र मुद्दा दर्ता भएका थिए। सो अवधिमा १५ वटा गाई, २२ वटा गोरु, पाँच जना व्यक्ति र दुई वटा सवारी साधन नियन्त्रणमा लिइएको तथ्यांक प्रहरीसँग छ।

एसपी सुवासचन्द्र बोहोराले गाई–गोरु तस्करीलाई गम्भीर र संवेदनशील अपराधको रूपमा लिँदै नियन्त्रणका लागि प्रहरी निरन्तर सक्रिय रहेको बताएका छन्। उनका अनुसार नेपालबाट भारत हुँदै बंगलादेशतर्फ गाई–गोरु तस्करी हुने क्रम लामो समयदेखि रहे पनि पछिल्लो समय निगरानी कडा पारिएपछि तस्करहरू नियन्त्रणमा पर्न थालेका छन्।

मकवानपुर जिल्ला प्रहरी कार्यालयले गाई–गोरु तस्करीविरुद्ध शून्य सहनशीलताको नीति अपनाउँदै आगामी दिनमा अझ प्रभावकारी निगरानी, नियमित चेकजाँच तथा कडा कानुनी कारबाहीलाई निरन्तरता दिने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्