काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नमूना मतपत्र छपाइको काम अन्तिम चरणमा पुर्याएको छ। आउँदो फागुन २१ गते हुने निर्वाचनका लागि मतदाता शिक्षाको उद्देश्यले १० लाख थान नमूना मतपत्र छपाइ भइरहेको हो।
आयोगले हिजोदेखि जनक शिक्षा सामग्री केन्द्रमा नमूना मतपत्र छपाइ सुरु गरेको हो। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार नमूना मतपत्र छपाइ सम्पन्न भएपछि भोलिदेखि समानुपातिकतर्फको मतपत्र छपाइ सुरु गरिनेछ।
समानुपातिकतर्फको मतपत्रमा बन्दसूची बुझाएका ५८ वटा दलका चुनाव चिह्न समावेश गरिनेछ। समानुपातिक मतपत्र देशभर एउटै आकारको हुनेछ। यसतर्फ २ करोड ८ लाख ५० हजार थान मतपत्र छाप्ने योजना रहेको आयोगले जनाएको छ।
जनक शिक्षा सामग्री केन्द्रका अनुसार माघ ९ गतेसम्म समानुपातिकतर्फको मतपत्र छपाइ सक्ने र माघ १२ गतेदेखि प्रत्यक्षतर्फको मतपत्र छपाइ सुरु गर्ने तयारी छ।
प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयन माघ ६ गते हुने छ। प्रत्यक्षतर्फको मतदानका लागि २ करोड थान मतपत्र छापिने आयोगले जनाएको छ। यस पटक कुल १ करोड ८९ लाख ३ हजार ६ सय ८९ जना मतदाता रहेकाले आवश्यकताअनुसार ५ देखि १० प्रतिशत बढी मतपत्र छापिनेछ।
मतपत्र छपाइ भइरहेको स्थलमा नेपाली सेनाले सुरक्षा व्यवस्था मिलाइरहेको जनक शिक्षा सामग्री केन्द्रले जनाएको छ।

सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्