Skip to content

अरूको कागजात दुरुपयोग गरी इसेवाबाट १ करोडभन्दा बढीको अवैध कारोबार, १९ वर्षीय किशोर पक्राउ

कालोपाटी

१ दिन अगाडि

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले अरूको कम्पनीको कागजात दुरुपयोग गरी अनलाइन भुक्तानी सेवा प्रदायक इसेवामार्फत शंकास्पद आर्थिक कारोबार गरेको आरोपमा १९ वर्षीय किशोरलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा काठमाडौँको कीर्तिपुर नगरपालिका–७ का क्रमिक उप्रेती रहेका छन्। प्रहरीले जनाएअनुसार उप्रेतीले ‘वाइड–स्पेस इन्टरनेसनल प्रालि’ को स्थायी लेखा नम्बर (प्यान) लगायतका महत्वपूर्ण कागजातहरू अनधिकृत रूपमा प्रयोग गरी इसेवा मर्चेन्ट वालेट तथा व्यक्तिगत इसेवा वालेट खोलेर गैरकानुनी आर्थिक कारोबार सञ्चालन गर्दै आएका थिए।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक (एसपी) काजी कुमार आचार्यका अनुसार प्रारम्भिक अनुसन्धानमा उप्रेतीले इसेवा मर्चेन्ट आईडीमार्फत ५६ लाख ३३ हजार ६ सय ३ रुपैयाँ र व्यक्तिगत इसेवा वालेटमार्फत ५६ लाख ३१ हजार ६ सय ३ रुपैयाँ बराबरको कारोबार गरेको खुलेको छ। सट्टेबाजी लगायतका प्रयोजनका लागि उनले कुल १ करोड १२ लाख रुपैयाँभन्दा बढीको अवैध कारोबार गरेको प्रहरीको ठहर छ।

प्रहरीले उप्रेतीको साथबाट अपराधमा प्रयोग भएका सामग्रीसमेत बरामद गरेको छ। बरामद सामग्रीमा एउटा ल्यापटप, दुई थान मोबाइल फोन, १६ थान एनसेल सिमकार्ड, तीन थान नमस्ते सिमकार्ड, एउटा स्मार्ट सिम, पेनड्राइभ र मेमोरी कार्ड रहेका छन्।

पक्राउ परेका उप्रेतीलाई बैंकिङ कसुर तथा सट्टेबाजीसम्बन्धी कसुरमा थप अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी परिसर, भद्रकाली काठमाडौँ पठाइएको एसपी आचार्यले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्