Skip to content

जेनजी आन्दोलनमा साढे २३ करोड नगद जलेर नष्ट, ३२ करोड चोरी

कालोपाटी

१ दिन अगाडि

 काठमाडौं । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा साढे २३ करोड रुपैयाँभन्दा बढी नगद जलेर नष्ट भएको खुलेको छ। आन्दोलनपछि अन्तरिम सरकारले गठन गरेको क्षति मूल्यांकन तथा सार्वजनिक संरचना पुनर्निर्माण योजना तयारी समिति ले तयार पारेको प्रतिवेदनअनुसार आन्दोलनका क्रममा नगद, सुनचाँदी तथा अन्य बहुमूल्य वस्तुमा गरी कुल २ अर्ब ८१ करोड ३४ लाख रुपैयाँ बराबरको क्षति पुगेको छ।

प्रतिवेदन अनुसार आन्दोलनका क्रममा नगदतर्फ कुल साढे ७८ करोड रुपैयाँ बराबरको क्षति भए पनि त्यसमा २३ करोड ६९ लाख रुपैयाँ बराबरको नगद आगजनीका कारण जलेर नष्ट भएको हो। यस्तै, ३२ करोड ८१ लाख रुपैयाँ बराबरको नगद चोरी भएको देखिएको छ भने तोडफोडका कारण २२ करोड रुपैयाँ बराबरको नगद क्षति भएको छ।

कुल क्षतिमध्ये ५७.५ प्रतिशत क्षति चोरीबाट, ३०.९ प्रतिशत आगजनीबाट र ११.६ प्रतिशत तोडफोडबाट भएको प्रतिवेदनमा उल्लेख छ। नगदबाहेक सुन, चाँदी, हिरा–मोती जस्ता बहुमूल्य धातुमा पनि ठूलो क्षति पुगेको छ। चोरीका कारण मात्र १ अर्ब २ करोड ६४ लाख रुपैयाँ बराबरको बहुमूल्य धातु नोक्सान भएको समितिले जनाएको छ।

यस्तै, आगजनीबाट १३ करोड ११ लाख र तोडफोडबाट ९३ लाख रुपैयाँ बराबरको बहुमूल्य धातु क्षति भएको छ। प्रतिवेदनले आगजनी र तोडफोडको तुलनामा चोरी नै क्षतिको प्रमुख कारण बनेको निष्कर्ष निकालेको छ।

निजी प्रतिष्ठानहरूसँग रहेको नगद मौज्दात तथा सुनचाँदी लगायत बहुमूल्य वस्तुमा ५६ करोड १८ लाख रुपैयाँ बराबरको क्षति पुगेको छ, जुन निजी क्षेत्रले बेहोरेको कुल क्षतिको २.६ प्रतिशत हो।

घरपरिवारतर्फ हेर्दा सबैभन्दा बढी क्षति सुन, चाँदी, हिरा र मोतीमा भएको देखिन्छ। यसतर्फ ७५ करोड ३१ लाख रुपैयाँ बराबरको क्षति पुगेको छ भने नगदमा १२ करोड ६५ लाख र अन्य बहुमूल्य वस्तुमा ७ करोड ५८ लाख रुपैयाँ बराबरको नोक्सानी भएको प्रतिवेदनमा उल्लेख छ।

सामुदायिक तथा अन्य क्षेत्रतर्फ नगदमा ३३ करोड ७० लाख रुपैयाँ र अन्य बहुमूल्य वस्तुमा १६ करोड २३ लाख रुपैयाँ बराबरको क्षति भएको देखिएको छ।

समितिको प्रतिवेदनले जेनजी आन्दोलनका क्रममा भएको आर्थिक क्षति गम्भीर रहेको औंल्याउँदै क्षतिग्रस्त संरचना र पीडितहरूको पुनःस्थापनाका लागि तत्कालीन योजना आवश्यक रहेको सुझाव दिएको छ।

प्रतिक्रिया दिनुहोस्