Skip to content

पुराना दलको अस्तित्व सङ्कट, ब्यालेटको उदय

कालोपाटी

३ दिन अगाडि

नेपालको राजनीति अहिले एउटा यस्तो ‘गल्पासो’ मा फसेको छ, जहाँ पुराना भनिएका दलहरू आफ्नो अस्तित्व जोगाउन ‘देउडा’ नाचिरहेका छन् भने नयाँ शक्तिहरू उनीहरूको विरासत उखेल्न ‘ब्यालेट’ को धारिलो हतियार लिएर मैदानमा उत्रिएका छन्। ‘को कति सफा’ भन्ने बहसमा अहिले कोही पनि चोखो छैन, तर ‘को बढी धमिलो’ भन्ने प्रतिस्पर्धामा पुराना दलहरूले कीर्तिमान कायम गरेका छन्।

कांग्रेसको ‘देउडा’ र देउवाको अस्तव्यस्त विरासत

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्ताका लागि जे-जस्ता हर्कत गरे, त्यसले लोकतन्त्रको मुहारमा कालो पोतेको छ। २०७७ यता कहिले एमाले त कहिले कम्युनिस्टका विभिन्न खेमसँग घाँटी जोडेर देउवाले कांग्रेसको पहिचानलाई ‘धुलीसात’ बनाएका छन्। आज आफ्नै महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको विद्रोहले देउवा थुरथुर कामेका छन्। पार्टीभित्रको आन्तरिक लोकतन्त्र यसरी धमिलिएको छ कि सभापति देउवा संकट टार्न शीतल निवासमा राष्ट्रपतिको शरण पर्न पुगेका छन्। आफ्ना ‘सात भाइ’ ले उचालेर नियमित महाधिवेशन सार्ने जुन हठ उनले पालेका थिए, त्यो अहिले उनकै लागि ‘गल्पासो’बनेको छ। राजनीतिको ‘देउडा’ नाचमा अगाडि–पछाडि सर्दा-सर्दा देउवा अहिले यस्तो ठाउँमा पुगेका छन्, जहाँबाट फर्कने बाटो त छ तर इमान बाँकी छैन।

ओलीको त्रास र चुनावी दाउपेच

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पछिल्लो छटपटीले पनि राजनीति झन् धमिलो भएको संकेत गर्छ। फागुन २१ को निर्वाचनलाई लिएर ओलीले जुन ‘अराजकता र खेल’ को आशंका गरेका छन्, त्यो उनको आत्मविश्वास डगमगाएको प्रमाण हो। एकै चरणमा चुनाव हुनुपर्ने माग राख्दै गर्दा उनले बुझेका छन्- अब पुराना तिकडम चल्नेवाला छैनन्। सुशासनको गफ दिने तर नीतिगत भ्रष्टाचारका मोटा–मझौला काण्डहरूमा मुछिएका दलहरूका लागि आगामी चुनाव ‘अग्निपरीक्षा’ हुने पक्का छ।

रास्वपाको आँधी: ‘बुलेट’ लाई ‘ब्यालेट’ को जवाफ

यही बेथिति र भ्रष्टाचारको दुर्गन्धका बीच २०७९ असार ७ मा जन्मिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अहिले सात दशक पुराना दलहरूको सातो खाएको छ। २०६४ मा माओवादी ‘बुलेट’ र युद्धको धाक देखाएर पहिलो भएको थियो, तर रास्वपा भने कुनै फौजी अनुभवबिना केवल जनताको ‘ब्यालेट’ बाट २०८२ सम्म मुलुकको ‘नम्बर वान’ शक्ति बन्ने प्रक्षेपणका साथ अघि बढेको छ।

कांग्रेस-एमालेको नातावाद र भ्रष्टाचारले आजित भएका जनताका लागि रास्वपा एउटा ‘सुनामी’ सावित हुँदैछ। बालेन शाहसँगको राजनीतिक ध्रुवीकरण र कुलमान घिसिङ जस्ता पात्रहरूको सम्भावित आगमनले यसलाई झनै सशक्त बनाएको छ। रवि लामिछानेको सञ्चार कला र स्वर्णिम वाग्लेको बौद्धिक क्षमताले ‘जेनजी’ पुस्तालाई मात्र होइन, विदेशमा रहेका नेपालीहरूलाई पनि ‘अब परिवर्तन सम्भव छ’ भन्ने विश्वास दिलाएको छ।

वैचारिक अस्पष्टता:  कता जाने रास्वपा ?

कुनै पनि राजनीतिक दलको दीर्घकालीन भविष्य त्यसको ‘दर्शन’ र ‘सिद्धान्त’मा अडिएको हुन्छ। रास्वपा अहिलेसम्म ‘विरोधको राजनीति’ मा मात्र सफल देखिएको छ। यो पार्टी दक्षिणपन्थी हो कि वामपन्थी ? पुँजीवादी हो कि समाजवादी ? यसको कुनै स्पष्ट मार्गचित्र छैन। केवल ‘हामी पुरानालाई ठेगान लगाउँछौ’ भन्ने नाराले केही समय चुनाव जित्न त मद्दत गर्ला, तर मुलुक सञ्चालनका लागि ठोस राजनीतिक दर्शन अनिवार्य हुन्छ। दर्शनबिनाको राजनीति केवल ‘सेलेब्रिटी’ हरूको एउटा क्लब मात्र बन्ने खतरा रहन्छ, जसले कुनै पनि बेला बाटो बिराउन सक्छ।

अन्त्यमा,

अहिलेको राजनीतिमा कोही पनि दुधले धोएका छैनन्। तर, देउवाको ‘सत्ता सयर’ र ओलीको ‘चुनावी डर’ ले गर्दा पुरानो शक्ति निकै धमिलो देखिन्छ। रास्वपाले आफूलाई ‘सफा’ विकल्पका रूपमा त प्रस्तुत गरेको छ, तर उसले आफ्ना नेतृत्वमाथि लागेका आरोपहरूलाई कानुनी रूपमा सफाइ दिएर मात्रै वास्तविक सुशासन दिन सक्छ। आगामी चुनाव केवल एउटा निर्वाचन मात्र होइन, यो ‘धमिलो राजनीति’ को विसर्जन र ‘सफा विकल्प’ को उदयको ऐतिहासिक फैसला हुनेछ। अबको पालो ‘सेलेब्रिटी’ को हो कि ‘सिद्धान्त’ को, त्यो जनताले ब्यालेटबाटै देखाउनेछन्।

प्रतिक्रिया दिनुहोस्