Skip to content

भर्ना आश्वासन खोक्रो भएको आरोप: नोबेल एकेडेमी विवादमा

कालोपाटी

२ घण्टा अगाडि

काठमाडौँ । काठमाडौँको नयाँ बानेश्वरस्थित नोबेल एकेडेमी मा कक्षा ११ मा अध्ययनरत विद्यार्थी तथा अभिभावकहरूले कलेजको शैक्षिक व्यवस्थापन, सेवा सुविधा र प्रशासनिक पारदर्शितामाथि गम्भीर प्रश्न उठाएका छन्।

भर्ना प्रक्रियामा गरिएको आश्वासन र वास्तविक कार्यान्वयनबीच ठूलो अन्तर देखिएको भन्दै उनीहरूले कलेज प्रशासनको ध्यानाकर्षण गराएका हुन्। अतिरिक्त शुल्क असुली, जरिवाना प्रणालीको कडाइ, तथा विभिन्न शीर्षकमा लिइएका रकमअनुसार सेवा नपाइएको आरोप अभिभावकहरूले लगाएका छन्।

विद्यार्थीका अनुसार प्रयोगशाला (Lab) र अतिरिक्त क्रियाकलाप (ECA) का लागि लिइएको शुल्कअनुसार आवश्यक पूर्वाधार, उपकरण र दक्ष प्राविधिक जनशक्तिको व्यवस्था कमजोर रहेको छ। यसका कारण प्रयोगात्मक सिकाइ प्रभावकारी हुन नसकेको उनीहरूको गुनासो छ।

त्यसैगरी, विषय शिक्षकहरू बारम्बार परिवर्तन भइरहँदा पढाइमा निरन्तरता नहुँदा पाठ्यक्रम समयमै पूरा नहुने जोखिम बढेको बताइएको छ। अनुशासनको नाममा स-साना गल्तीमा समेत जरिवाना लगाइने र आर्थिक दबाब सिर्जना गरिने अभ्यासले विद्यार्थीहरू मानसिक तनावमा परेको अभिभावकहरूको भनाइ छ।

अभिभावकहरूले घरबाट खाजा ल्याउन निषेध गरिनु र क्यान्टिनको खाना गुणस्तरहीन भएको आरोपसमेत लगाएका छन्। साथै, खेलमैदानको अभाव र अतिरिक्त गतिविधिको कमजोर व्यवस्थापनले विद्यार्थीको सर्वाङ्गीण विकासमा असर परेको उनीहरूको दाबी छ।

सम्बन्धित पक्षहरूले तत्काल समस्या समाधान नगरे संस्थाको शैक्षिक साखमा गम्भीर असर पर्ने र विद्यार्थी आकर्षण घट्ने जोखिम रहेको चेतावनी पनि अभिभावकहरूले दिएका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार