Skip to content

कार्तिक नाचको दशौँ दिन नरसिंह अवतार प्रस्तुत, मंसिर ८ गते समापन हुने (तस्बिरहरु)

कालोपाटी

६ मिनेट अगाडि

काठमाडौं । ललितपुरको पाटन दरबार स्क्वायरस्थित कार्तिक डबलीमा सञ्चालन भइरहेको ऐतिहासिक कार्तिक नाचको दशौँ दिन आइतबार साँझ नरसिंह अवतार अर्थात् हिरण्यकश्यपु वधको नाच प्रस्तुत गरिएको छ।
कार्तिक २७ गतेदेखि सुरु भएको ऐतिहासिक कार्तिक नाचअन्तर्गत भगवान् विष्णुको नरसिंह अवतारको कथा प्रस्तुत गरिएको हो। धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको यो नाच तान्त्रिक विधि र परम्परागत शैलीमा प्रस्तुत गरिन्छ।
नेपाल संवत् ७६१ (सन् १६४१) देखि सुरु भएको मानिने कार्तिक नाच नेपालको ऐतिहासिक र सांस्कृतिक सम्पदाका रूपमा परिचित छ। मल्लकालीन राजा सिद्धिनरसिंह मल्लको पालामा सुरु भएको यस नाचमा भगवान् विष्णुका विभिन्न अवतार, धार्मिक आख्यान तथा पौराणिक कथाहरू नृत्य र अभिनयमार्फत प्रस्तुत गरिन्छ।
यस वर्षको कार्तिक नाचमा भक्त सुरदास प्याखँ, माधवानर लीला, बाठा तालेश, जलशयन, वराह अवतार, नरसिंह अवतारलगायत विभिन्न धार्मिक तथा पौराणिक प्रसङ्ग समेटिएका छन्।कार्यक्रम तालिकाअनुसार सोमबार मंसिर ७ गते वस्त्रहरण लीला र मंगलबार मंसिर ८ गते दधि लीला प्रस्तुत गरिनेछ। त्यससँगै यस वर्षको कार्तिक नाच समापन हुनेछ।
कार्तिक नाच संरक्षण समितिको आयोजनामा सञ्चालन भइरहेको नाच प्रत्येक दिन साँझ ७ बजे पाटन दरबार स्क्वायरस्थित कार्तिक डबलीमा प्रस्तुत हुँदै आएको छ।
ऐतिहासिक, धार्मिक र सांस्कृतिक महत्त्व बोकेको कार्तिक नाचले नेवारी कला, संस्कृति, परम्परा र मौलिक नृत्य शैलीको संरक्षण तथा पुस्तान्तरणमा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ। यस नाचको अवलोकनका लागि स्वदेशी तथा विदेशी दर्शकसमेत कार्तिक डबली पुग्ने गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार