Skip to content

सुनिताले इटा दिइन्, बालेनले जग हाले, अनि सिलान्यास भयो वडाको भवन

कालोपाटी

५ घण्टा अगाडि

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको वडा नम्बर ३२ को वडा प्रशासकीय भवनको शिलान्यास भएको छ । आज महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) र उपप्रमुख सुनिता डंगोलले शिलान्यास गरेका हुन् ।

४ रोपनी ३ आना १ पैसा क्षेत्रफलमा कार्यालय भवन निर्माण हुनेछ । भवन निर्माणका लागि १७ करोड ४२ लाख ७० हजार ८७५ रुपियाँ अनुमान गरिएको थियो । यसमा बोलपत्रमार्फत प्रतिस्पर्धामा आएका निर्माण पक्षमध्ये चौधरी भीषण एशोसियट जेभीले ३२.३३ प्रतिशत कम रकम अर्थात् ११ करोड ७९ लाख ३० हजार ५११ रुपियाँमा कवोल गरेर निर्माणको जिम्मा पाएको छ । निर्माण पक्षसँग महानगरपालिकाले २०८२ पुस २९ गते सम्झौता गरेको हो । काम सम्पन्न हुने अवधि २०८३ पौष मसान्तसम्म राखिएको छ ।

शिलान्यासपछि आयोजित कार्यक्रममा बोल्दै प्रमुख शाहले, लामो समयदेखिको प्रयत्नबाट वडाबासीले सुविधा सम्पन्न भवन प्राप्त गर्ने अवसर आएको बताए । भवन निर्माणका लागि जग्गा खरिद गरेर सहरी योजना आयोगमार्फत डिजाइन गरिएको नक्साका आधारमा मालपोत, नापी जस्ता महानगरपालिकामा थपिँदै आउने सेवा समेत अट्न सक्ने भवन निर्माण थालनी हुनु वडाबासीका लागि गौरवको क्षण भएको उनको भनाइ थियो ।

भवनको गुणस्तरको कुरा गर्दै उनले वडाबासीलाई भने, ‘यसको गुणस्तरीयता कायम गराउन यहाँहरुले समय समयमा आएर कसरी काम भइरहेको छ? योजना अनुसार काम भएको छ कि छैन भनेर निगरानी गरिरहनु पर्छ ।’

वडा सचिव सुरेश दाहालका अनुसार भवन निर्माण गर्ने जमिन मनोहरा जग्गा एकीकरण आयोजनासँग करिब २८ करोड रुपियाँ लागतमा खरिद गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार