Skip to content

सुनको भाउले तोड्यो कीर्तिमान, तोलामा ३ लाख नाघ्यो

कालोपाटी

६ घण्टा अगाडि

 काठमाडौं । नेपाली बजारमा सुनको भाउ प्रतितोला ३ लाख नाघेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबारका लागि सुनको भाउ प्रतितोला ३ लाख १ हजार ४ सय रुपैयाँ तोकेको छ, जुन हालसम्मकै कीर्तिमानी मूल्य हो ।

आज एकैदिन सुनको भाउ प्रतितोला ९ हजार २ सय रुपैयाँले वृद्धि भएको हो । यसअघि हिजो सुनको भाउ प्रतितोला २ हजार ९ सय रुपैयाँ घटेर २ लाख ९२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै त्यसको प्रभाव नेपाली बजारमा परेको महासंघका प्रथम उपाध्यक्ष धर्मसुन्दर बज्राचार्यले बताए । उनका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रतिऔंस ४ हजार ९ सय ५० अमेरिकी डलर नाघेको छ ।

‘अन्तर्राष्ट्रिय द्वन्द्व चर्किने संकेत र अमेरिकासम्बन्धी गतिविधिका कारण विभिन्न मुलुकका केन्द्रीय बैंकहरूले सुनमा लगानी बढाएका छन्,’ बज्राचार्यले भने, ‘यसले माग बढेसँगै मूल्य पनि उकालो लागेको हो।’

यसैबीच, चाँदीको भाउ पनि तोलामा ६ हजार नाघेको छ । महासंघले आज चाँदीको भाउ प्रतितोला ६ हजार १ सय ९० रुपैयाँ तोकेको छ, जुन अघिल्लो दिनको तुलनामा ३ सय २० रुपैयाँ बढी हो । हिजो चाँदी प्रतितोला ५ हजार ८ सय ७० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार